अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा ३ सय १० जनालाई कोरोना विरुद्धको खोप लगाईने भएको छ । पहिलो चरणमा नगरपालिका भित्रका स्वास्थ्यकर्मी, सरसफाईकर्मी र महिला स्वास्थ्य स्वयमसेविका गरि ३ सय १० जनालाई कोरोना बिरुद्धको खोप लगाईने गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
जसमा स्वास्थ्यकर्मी , सरसफाईकर्मी २ सय ५ जना र महिला स्वास्थ्य स्वयमसेविका १ सय ५ जनालाई पहिलो चरणमा खोप लगाइने स्वास्थ्य शाखा प्रमुख विर बहादुर कुवँरले जानकारी दिए ।
उनीहरुलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा यही माघ १७, १८ र १९ गते ३ दिन खोप लगाईने उनले बताए । खोप लगाउन चाहने सुरक्षाकर्मीहरुको तथ्याङ्क भने नगरपालिकाले राखेको छैन् ।
नगरभित्र रहेका सुरक्षाकर्मीहरु भने आफ्नो च्यानलबाट जाने भएकाले नगरपालिकाको तथ्याङ्कमा नसमेटिएको प्रमुख कुबँरले बताए ।
स्वास्थ्यकर्मी र सरसफाईकर्मी मद्ये निजि क्षेत्रमा कार्यरत ९० जना रहेको उनको भनाई छ । सुदूरपश्चिम प्रदेश सहित हिजोवाट देशभर कोरोना बिरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरिएको हो । पहिलो दिन बुधवार १ हजार ८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
सबैभन्दा धेरै अछाममा २ सय ३७ जना स्वास्थ्यकर्मीले खोप लगाएको हुन् । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा १ सय ७० जना , टीकापुर अस्पतालमा ८७ जना , डोटीमा १ सय ५६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा १ सय २४ जना, डडेल्धुरामा १ सय २२ जना, बैतडीमा ७, बझाङमा ५९ र दार्चुलामा ५० जना स्वास्थ्यकर्मीले खोप लगाएको छन् ।
भारतले अनुदानमा उपलब्ध गराएका खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई लगाइने प्रदेश सरकारले जनाएको छ।