काठमाण्डौ - वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्ना योजनाहरु सार्वजनिक गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको १ महिना पछि वनमन्त्री आलेले आज पत्रकार सम्मेलन गर्दै आफ्ना योजनाहरु सार्वजनिक गरेका हुन् ।
जसमा ७ वटै प्रदेशमा चिडियाखाना स्थापना गर्ने देखी आर्यघाटमा शव जलाउनका लागि चाहिने दाउरा निशुल्क उपलब्ध गराउने सम्मका योजनाहरु रहेको वनमन्त्री आलेले बताएका छन् । सबै प्रदेशलाई समेट्ने गरी ७ वटै प्रदेशमा चिडियाखाना स्थापना गर्ने योजना अघि सारेको र यसका लागि सर्वेको काम अघि बढिसकेको उनले बताए ।
सुदूरपश्चिम प्रदेशमा बडीकेदार संरक्षण क्षेत्र २ सय ५० वर्गकिलोमिटर बझाङको सैपाल, अछामको रामारोशन तथा लिलिभ्याली ५ सय वर्गकिलोमिटर क्षेत्रलाई समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गर्नका लागि काम सुरु गर्ने पनि उनले बताए ।
उनले आर्यघाटमा शव जलाउनका लागि चाहिने दाउरा निशुल्क उपलब्ध गराउने योजना पनि अघि सारिएको बताए । कतिपय गरीव परिवारसंग आफन्तको मृत्युपछि दाउरा नभएकै कारण कतिपयलाई अन्तिम दाहासंस्कार गर्न मुस्किल भइरहेले यस्तो अबस्थाको अन्त्य गर्नका लागि यो योजना सारिएको उनको भनाई छ ।
यस्तै महानगर तथा उप–महानगर क्षेत्रमा बगैचा हरियाली विकास गर्ने कार्यक्रमको पनि थालनी गरिने मन्त्रालयको योजना छ । अहिल कम्तिमा पनि २ लाख विरुवा वृक्षारोपण गर्ने मन्त्रालयको तयारी रहेको उनले बताए । मन्त्रालयले ५ वटा ठुला ताललाई नमूना तालका रुपमा विकास गर्ने गरी काम अघि बढाएको समेत उनले बताए ।
मन्त्री आलेले नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने गरी नयाँ कार्यक्रम लागू गर्ने योजना अघि सारेका छन् । उनले प्रधानमन्त्री जडीबुटी कृषि वन रोजगार कार्यक्रमलाई अघि बढाउने योजना अघि सारेका हुन् । कतिपय दुरदराजका ठाउँमा जहाँ सिंचाइ छैन, ती ठाउँमा मकै, कोदो गहुँ बाहेक अरु केही पनि उत्पादन हुन सक्दैन ।
यस्ता ठाउँको मूल्यांकन गरेर राज्यले जडीबुटी उत्पादनलाई अगाडि बढाउनेछ उनले भने ।’ सरकारले बोटबिरुवाको व्यवस्थापन गर्ने र किसानले उत्पादन गरिसकेपछि त्यसका लागि बजारको व्यवस्थापन पनि वन मन्त्रालयले गर्नेछ र रोजागारी सिर्जना हुने उनको भनाई छ ।
यस्तै मन्त्री आलेले लगानीको टुंगो नलागेसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि रूख काट्ने काम अघि नबढ्ने दावी गरेका छन् ।