बैतडी - जिल्लामा विद्यालयमै पुगेर प्रहरीले सचेतना दिन थालेको छ । समाजमा विभिन्न खालका अपराधहरु बढ्दै गएकाले ती अपराधहरु न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका माध्यमिक विद्यालयहरुमा अन्तरक्रिया गर्ने र विभिन्न खालका चेतनामूलक कक्षाहरु सञ्चालन गर्ने गरिएको उनले बताए । उनले भने,समाजमा घरेलु हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढीरहेका छन् । यस्ता घटनाहरुको न्यूनीकरण गर्न र दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि यो अभियान सञ्चालन गरेका हौं ।’
प्रहरी निरीक्षक हरिशरण भट्टको नेतृत्वमा प्रहरी टोली अहिले जिल्लाका विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक कक्षा सञ्चालन गरिरहेको छ । यस्तै विद्यालयहरुमा विद्यालय–प्रहरी सम्पर्क समिति समेत गठन गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । सो समितिमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समेटिएको छ ।
समितिले समाजमा भईरहेका आपराधिक क्रियाकलापका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्नेछ । सूचनाका आधारमा प्रहरीले आफ्नो कार्य अघि बढाउन सहज हुने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। जिल्लामा अहिलेसम्म १३ भन्दा बढी माध्यमिक विद्यालयहरुमा यस्तो समिति गठन भईसकेको छ ।समितिमा रहेका सदस्यहरुले समाजमा भईरहेका घरेलु हिंसा, लैगिंक हिंसा, बलात्कार जस्ता अपराधको बारेमा प्रहरीलाई जानकारी दिने र प्रहरी ती घटनाहरुमा कानुनी कारवाही गर्ने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए ।
प्रहरीले थालेको यो अभियानले समाजमा रहेका विकृति अन्त्य गर्नका लागि सहयोग पुग्ने जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘विद्यालयमा विद्यार्थीहरुसंग गरिने अन्तरक्रियाले ठूलो सहयोग पुग्छ । समाजमा विकृतिका बारेमा उनीहरुलाई जानकारी भएमा यसलाई न्यूनीकरण गर्न उनीहरुले सहयोग गर्न सक्छन् ।’
प्रहरीले थालेको यो अभियानले समुदाय र प्रहरीबीचको सम्बन्ध पनि बलियो हुने क्याम्पस प्रमुख अवस्थीले बताए । प्रहरी देख्ने बित्तिकै डराउने गरेकोमा पछिल्लो समयमा यस्ता खालका कार्यक्रमहरुले प्रहरी र नागरिकबीचको सम्बन्धलाई बलियो बनाएको उनले दाबी गरे ।