कैलाली -धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको दोस्रो संस्करणमा निसर्ग हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो ।
स्पोर्टस अवार्डमा दिईने ९ वटा विधा मध्येको बर्षको उत्कृष्ट युवा खेलाडी अवार्डको विधालाई निसर्गले प्रायोजन गरेको हो । अब यो विधाको नाम निसर्ग हस्पिटल युवा बर्ष खेलाडी रहने छ । खेलकुदमा कम उमेरमै बर्ष २०७६ सालमा उत्कृष्ट प्रदर्शन गरेका १९ बर्ष मुनिका खेलाडीलाई दिईने यो विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । अघिल्लो बर्ष पनि निसर्गले विधा प्रायोजन गरेर साथ दिएको थियो ।
विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तिर्थ पन्त र प्रवन्ध निर्देशक कुवेर शाही तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गरे । अवार्डमा सहकार्य गर्न पाउँदा खुशी लागेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तिर्थ पन्तले बताए । उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
बर्ष युवा खेलाडी विधा अवार्डका विजेतालाई अस्पतालमा उपलब्ध रहेको स्वास्थ्य उपचारको निशुल्क गर्ने हस्पिटलका प्रवन्ध निर्देशक शाहीले बताए । आगामी चैत ६ गते धनगढीमा हुने सुदूरपश्चिम स्पोर्टस अवार्ड विभिन्न ९ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
त्यसैगरी पिपुल च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधामा पनि अवार्ड वितरण गरिनेछ । ७ वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।
अवार्ड अन्तर्गतको सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आईकन महिला विधालाई तिवारी मेडिसिन डिष्ट्रिव्युटर्सले प्रायोजन गरिसकेको छ । सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दोस्रो संस्करणलाई धनगढी उप महानगरपालिकाले प्रबद्र्धकको रुपमा सहयोग गर्ने सम्झौता भईसकेको छ ।
नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दै आएको छ । चैत ६ गते आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ । गत वर्ष ६ विधामा अवार्ड दिईएको थियो ।
पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।