दिपायल - डोटीको शिखर नगरपालिका ९ कि अनिता (नाम परिवर्तन) स्थानीय दानकोट स्वास्थ्य चौकीमा आइन् । १८ वर्षीया अनिता गर्भवती थिइन् ।
उनी अल्ट्रासाउण्ड गराउनका लागि आएकी थिइन् । स्वास्थ्यकर्मी फलिता रावतले उनको अल्ट्रासाउण्ड गराउँदै सानै उमेरमा बच्चा जन्माउँदा हुने खतराबारे जानकारी गराइन् । उनले स्वास्थ्य सुरक्षाको विषयमा पनि उनलाई परामर्श दिइन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ ले २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था गरेको छ । तर डोटीमा १७र१८ वर्षकै उमेरमा बिहे गरी आमा बनेका धेरै घटना छन् । ‘१७ र १८ वर्षका युवतीहरु पनि गर्भ जाँच गर्नका लागि आउने गरेका छन्,’ स्वास्थ्यकर्मी रावत भन्छिन्, ‘हामीले सम्झाएर पठाउने गरेका छौं ।’ गत साउन महिनादेखि पुससम्म दिपायल सिलगढी नगरपालिकामा मात्रै ७० जना २० वर्षमुनिका गर्भवतीले अल्ट्रासाउण्ड गराएको कलेना स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी ज्योति श्रेष्ठले बताइन् ।
‘६ महिनाको अवधीमा नगरपालिकाभित्र २० वर्षमुनिका ७० जना सेवा लिन आएका छन्,’ श्रेष्ठले भनिन्, ‘केही किशोरीहरु दोहोरिएर पनि आएका हुन सक्छन्, तर सानै उमेरमा गर्भवती हुनेको संख्या कम छैन ।’ सानै उमेरमा गर्भवती भई गर्भ जाँच गराउने गरेका धेरै घटनाहरु रहेको बताउँछिन् जोरायल गाउँपालिका(३ मा रहेको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड गर्ने स्वास्थ्यकर्मी शान्ति जोशी ।
‘१७ वर्षका बहिनीहरु पनि आएका छन्,’ जोशीले भनिन् ‘अल्ट्रासाउण्ड गर्दा कसैमा त जटिल स्वास्थ्य समस्या देखिन्छ ।’ आर्थिक वर्ष २०७६र०७७ मा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तरगत अल्ट्रासाउण्डको सेवा लिने एक हजार नौ सय २८ गर्भवतीमध्ये दुई सय ७८ जना २० वर्षमुनिका रहेका स्वास्थ्य कार्यालय डोटीको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले यस तथ्यांकले अहिले पनि २० वर्ष नपुग्दै किशोरीहरु आमा भइसक्छन् भन्ने देखाएको बताए ।
‘तर विगतको तुलनामा २० वर्ष नपुग्दै गर्भवती हुने दर घटेको छ,’ मलासीले भने, ‘आर्थिक वर्ष २०७४र०७५ मा पहिलो पटक गर्भ जाँच गराउने कुल संख्याको २० प्रतिशत २० वर्ष मुनिका थिए, अहिले त्यो घटेको छ ।’ उनले आर्थिक वर्ष ०७५ र ०७६ मा उक्त संख्या १७ प्रतिशतमा झरेको र गत आर्थिक वर्षमा ११ प्रतिशतमा झरेको जानकारी दिए ।
प्रभावकारी बन्दै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम
आदर्श गाउँपालिका ४ को महादेवस्थान स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी डम्मरा रावलले २०७६ फागुन २० गतेदेखि ग्रामिण अल्ट्रासाउण्ड सेवा सुरु गरिन् ।
चार महिनाको अवधिमा उनले चार सय २६ जनालाई सेवा दिइन् । उनले गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य चौकीमा घुम्ती अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने गरेकी छिन् । उनी भन्छिन्, ‘एक पटकको घुम्ती सेवामा एक सय ८० जना जतिले सेवा लिने गरेका छन् ।’
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी बताउँछन् । डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा गत वर्ष फागुन र चैतबाट सुरु भएको उक्त सेवा अन्तरगत चाररपाँच महिनाको अवधिमा एक हजार नौ सय २८ जनाले सेवा लिएको मलासीको भनाइ छ ।
‘गर्भवती महिलाहरुमा भएका जटिल समस्याहरु समयमै जानकारी पाई आमा र बच्चाको जीवन सुरक्षित राख्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो,’ मलासीले भने, ‘अल्ट्रासाउण्ड गराउनेहरुमध्ये एक सय १६ गर्भवतीमा जटिल समस्या देखिएको थियो ।’ ४९ जना गर्भवतीलाई थप उपचारका लागि अन्यत्र रिफरसमेत गरिएको मलासीले जानकारी दिए ।
के हो ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम ?
सुदूरपश्चिम प्रदेश सरकारले एक स्थानीय तह, एक अल्ट्रासाउण्ड मेसिन उपलव्ध गराई सेवा सुरु गरेको छ । ग्रामीण अल्ट्रासाउण्ड सेवाबाट ग्रामीण क्षेत्रका गर्भवती र पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन यो सेवा सुरु गरिएको हो ।
‘दक्ष प्रसूतिकर्मी (एसबीए) तालिम प्राप्त स्वास्थ्यकर्मीलाई अल्ट्रासाउण्ड सम्बन्धी २१ दिने तालिम दिएर सेवा सुरु गरिएको छ,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले भने, ‘प्रत्येक गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड गरिन्छ ।’ उनले अल्ट्रासाउण्डको कुनै साइड इफेक्ट नहुने बताए ।
अल्ट्रासाउण्ड गर्दा आमा र बच्चाको अवस्था असामान्य देखिए तत्काल उपचारका लागि जान सुझाव दिने गरेको मलासीले बताए ।
हाल डोटीका नौवटै स्थानीय तहमा यो सेवा सुरु भइसकेको समेत मलासीले बताए । एक स्थानीय तहमा एक जना स्वास्थ्यकर्मी र एक मेसिन दिइएको छ । ती स्वास्थ्यकर्मीले पालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरुमा आलोपालो गरी सेवा दिने गरेको मलासीले जानकारी दिए । अनलाईन खबरवाट