टीकापुर - कैलालीस्थित भन्सार कार्यालयले चालू आर्थिक वर्षको छ महीनामा लक्ष्यभन्दा धेरै राजस्व उठाएको छ । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलाले छ महीनामा नै वार्षिक लक्ष्यभन्दा सवा २ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
खक्रौला भन्सार कार्यालयले आव २०७७र ७८ मा ६ करोड ७ लाख राजस्व उठाउने वार्षिक लक्ष्य राखेकामा पुस मसान्तसम्म साढे ८ करोड राजस्व उठिसकेको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिए ।
कोरोना सङ्क्रमणपछि सीमानाका खुला नहुँदा मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि भन्सार कार्यालयलाई फाइदा भएको छ । पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजस्वमा वृद्धि भएको उनको भनाइ छ ।
दुई वर्षअघि मात्र स्तरोन्नति भएको खक्रौला भन्सारले गत आवमा ५ करोड ८० लाख ७ हजार रुपियाँ मात्रै राजस्व उठाएको थियो । खक्रौला भन्सारबाट कपडा, मोटरपार्टस् र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् ।
यससँगै भारततर्फको सडक राम्रो भई नेपाल सरकारले पशु, वनस्पति र खाद्य क्वारेन्टिन स्थापना गरी पशु, वनस्पति र खाद्य सामग्रीको आयात निर्यातको व्यवस्था गरे अझै राजस्वबढ्ने शाहले बताए । धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि छ महीनामा लक्ष्यभन्दा बढी राजस्व उठाएको छ ।
चालू आवको साउनदेखि पुस मसान्तसम्म ३ अर्ब ९० करोड राजस्व उठाउने लक्ष्य लिएकामा ४ अर्ब ३५ करोड राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडेन्द्र खतिवडाले जानकारी दिए।
कैलाली भन्सार कार्यालयबाट यो अवधिमा पेट्रोलियम पदार्थ, चामल, गहुँ, पापड, भुजिया, दालमोठ बिस्कुट, आलुजस्ता खाद्य वस्तुको अयात धेरै भएको छ । सरकारले सीमानाकामा रहेका राजस्व कार्यालयलाई व्यवस्थित गरी भन्सार छली हुने क्रियाकलाप नियन्त्रण गर्न सके राजस्व सङ्कलनमा अझै वृद्धि हुने स्थानीयवासी बताउँछन् । रासस