अछाम - जिल्लामा पछिल्लो समय कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन हुन छाडेको छ । माघ ३ गते पछि जिल्लामा ७ जनाको मात्रै कोरोना परीक्षण भएको छ ।
दैनिक ९६ को सङ्ख्यामा कोरोना परीक्षण गर्ने क्षमता रहेको अछामको कमलबजार पिसिआर प्रयोगशालामा सुरुवातमा २४ घण्टामा १२८ जनाको कोरोना परीक्षण हुने गरेको थियो ।स्थानीय पालिकाले पनि कोरोना परीक्षण गर्न उदासीन बनेका र नागरिक पनि पछिल्लो पटक संयमित नभएकाले कोरोना परीक्षण हुन छोडेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताए।
स्वास्थ्य कार्यालय र स्थानीय तहहरूबाट नमुना आउन छोडेपछि कमल बजार पिसिआर प्रयोगशालामा कोरोना परीक्षण नभएको कमल बजार पिसिआर प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिए ।“केही समययता स्थानीय तहबाट नमुना आएका छैनन् । परीक्षण गरिने नमुनामध्ये सङ्क्रमित फेला पर्ने दर घटेको छ” विष्टले बताए। प्रयोगशालाले एक सातायता कोरोना परीक्षणको सूचना पनि दिन छोडेको छ ।
अछाममा अहिलेसम्म १३ हजार ३ सय २७ जनाको कोरोना परीक्षण गरिएको छ । जिल्लामा १६ सय ६८ जनामा कोरोना पोजेटिभ देखिएकोमा १६ सय ५० जना निको भई घर फर्किएका छन् । अछाममा अब सक्रिय सङ्क्रमितको सङ्ख्या १३ जनामा झरेको छ । जिल्लामा ५ जनाको कोरोना सङ्क्रमणकै कारणले ज्यान गएको छ ।
त्यस्तै अछाममा ७ वटा पालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् । जिल्लाको ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, बान्निगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका र रामारोशन गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।
जिल्लाको कमलबजार नगरपालिकामा चार जना, चौरपाटी गाउँपालिकामा ६ जना र मंगलसेन नगरपालिकामा ३ जना गरी १३ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय अछामले जनाकारी दिएको छ ।