कञ्चनपुर - जिल्लाको शुक्लाफाँटा नगरपालिका कार्यालय भवन निर्माणमा मापदण्ड विपरीतको बालुवा प्रयोग भएको जनगुनासो रहेपछि परीक्षण निम्ति प्रयोगशालामा नमूना पठाउने निर्णय गरिएको छ।
एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा शहरी विकास आयोजना अन्तर्गत शर्मा एण्ड कम्पनी प्रालिले ठेक्का प्रकृयामार्फत भवन निर्माणको काम गरिरहेको छ।ठेक्का सम्झौता अनुरूप बालुवाको प्रयोग नभएको व्यापक जनगुनासो आएपछि परीक्षणका लागि बिहीवार डिभिजन सडक कार्यालय महेन्द्रनगरको प्रयोगशालामा पठाउने निर्णय गरिएको स्थानीय समाजसेवी टेक बहादुर हमालले बताए। ठेकेदारले बालुवा भन्दै थुपारेको थुप्रोमा पाँगो माटोको मात्रा अत्यधिक रहेको छ।
‘भवन निर्माणस्थलमा राखिएको बालुवा ठेकेदारका प्रतिनिधिको रोहवरमा संकलन गरी नगरपालिका कार्यालयमार्फत परीक्षणका लागि साक्षी सर्जमिन मुचुल्का तयार गरी पठाइसकेका छौं,’ उनले भने, ‘परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च निर्माण व्यवसायीले व्यहोर्ने सहमति भएको छ।’उनका अनुसार बालुवाको नमूना परीक्षणका लागि वडा अध्यक्ष लालबहादुर ऐर, निर्माण व्यवसायीका प्रतिनिधि रोशन भट्ट, नगरपालिका कार्यालयका इन्जिनियर लोकेन्द्र भट्ट, कन्स्ट्रक्सन सुपरभिजन कन्सल्ट्यान्ट प्रतिनिधि मनोज कुमार झा, सञ्चारकर्मी लगायतको रोहवरमा बालुवाको नमूना संकलन गरिएको हो।
यसअघि समेत भवन निर्माणमा कमसल बालुवा प्रयोग भएपछि नगरपालिकाको अनुगमन टोलीले बालुवा हटाउन लगाएको थियो।यसैबीच, अनुगमन टोलीले शहरी विकास आयोजना अन्तर्गत निर्माण हुन लागेको सडकको नालीको ढलानमा क्युरिङ नगरिएको पाएपछि निर्माण कम्पनीलाई सचेत गराएको छ। सडकको नालीमा समेत गुणस्तरहीन बालुवाको प्रयोग भैरहेको स्थानीयको आरोप छ।आयोजना अन्तर्गत सडक निर्माणका क्रममा कल्भर्ट बनाउन वर्षौं पुरानो ह्युमपाइप राखेपछि स्थानीय बासिन्दाले हटाउन दबाब दिएका थिए।
टोटी नाला नजिकको सडक खण्डमा रमन केएसजेभी नामक निर्माण कम्पनीले पुरानो ह्युमपाइप राखी ढलान गर्दै गरेको अवस्थामा फेला पारी हटाउन लगाइएको घनश्याम भट्टले बताए।‘३० वर्ष अघिको पूरानो कल्भर्ट भत्काएर निर्माण कम्पनीले नयाँ कल्भर्ट निर्माण गर्नुपर्नेमा पुरानै कल्भर्टको ह्युमपाइप राख्न लागेको अवस्था फेला पारेपछि हटाउन लगाएका छौं,’ उनले भने। उनका अनुसार गल्ती स्वीकार गर्दै निर्माण कम्पनीले पुरानो ह्युमपाइप हटाएको हो।नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले निर्माण कम्पनीले कमसल खाले निर्माण सामग्रीको प्रयोग र निर्माण कार्यमा लापर्वाही गरेको व्यापक जनगुनासो आउन थालेकाले अनुगमनको कार्यलाई तिव्रता दिइने बताए।
‘निर्माण कम्पनीले सम्झौता अनुसारको कार्य नगरे कारवाहीका लागि सिफारिस गर्छौं,’ उनले भने, ‘गुणस्तरीय निर्माण गर्न व्यवसायीले प्रतिवद्ध हुनुपर्छ, अनुगमनगर्न कार्यालयका इन्जिनियरलाई समेत जिम्मेवारी दिएका छौं, गुणस्तरहीन कार्य गरिएको पाइए स्वीकार्य हुनेछैन।’