“खेतमा उत्पादन भएको काउलीलगायत तरकारी बिक्री गर्न निकै अप्ठेरो छ”, उनले भने, “बजार भाउ पाउँदैनौँ । टाढाको बजारमा भाउ पाइए पनि समयमै ढुवानीका साधनको व्यवस्था गर्न नसक्दा उत्पादित तरकारी पु¥याउन सकिँदैन ।” खेतमै बिग्रिएको तरकारी घरपालुवा जनावरलाई खुवाउन बाध्य भएको उनले बताए ।
“व्यापारीले सस्तोमा माग्छन”, नवकिरण सहकारी संस्थाका अध्यक्ष धनबहादुर चौधरीले भने, “किसानले महँगोमा बेच्न खोज्छन् । यसै कारणले उत्पादित तरकारी बिक्रीमा समस्या देखिएको छ ।” काउली उत्पादन सबै किसानले एकै समयमा गरेकाले पनि बजार मूल्य घटेको उनको भनाइ छ । विचौलियाको भर नपरेर तरकारी उत्पादक किसानले सिधै व्यापारीसँग तरकारी बिक्री गर्दासमेत घाटा नलाग्ने गरी मूल्य पाउन सक्ने हुन्छ ।
त्यसका लागि व्यापारी र किसानबीच छलफल गरी उचित मूल्य निर्धारण गर्नुपर्ने वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । “वडाका सबै परिवार तरकारी खेतीमा लागेका छन”, उनले भने, “तरकारी खेतबाट सबैको घर खर्च चलेको छ । बजारीकरणको समस्या हल गर्न सबैको पहल आवश्यक छ ।”
कृषि विकास शाखाका प्रमुख खडक विकले मुख्यमन्त्री नमूना गाउँ कार्यक्रमअन्तर्गत वडा नं ३ का तरकारी खेती गर्दै आएका किसानलाई आधुनिकीकरण गर्नक लागि रु एक करोड बढी रकम लगानी गरिएको बताए ।
“लगानीअनुरुप किसानले तरकारी उत्पादन गरेका छन”, उनल भने, “सबै किसानले एउटै किसिमको तरकारी फलाउँदा बजार मूल्य थोरै पाएका हुन् । किसानका खेतमा काउली फलेको छ । माग थोरै छ । यस वर्ष उत्पादन धेरै भएको छ । त्यसैले पनि मूल्य घटेको छ ।” सहजै तरकारी बिक्री गर्नका लागि तरकारी सङ्कलन केन्द्रको व्यवस्थासँगै ढुवानीका साधनको व्यवस्था गरिनुपर्ने उनले बताए ।
“कृषि क्षेत्रमा क्रियाशील सङ्घ संस्थासँग समन्वय गरी तरकारी बिक्रीका लागि देखिएको बजारको समस्या हल गर्छौं”, नगर प्रमुख दिलबहादुर ऐरले भने, “ढुवानीका साधनको व्यवस्थासमेत मिलाउँछौँ ।”नगरपालिकासँग रहेका टिपर परिचालन गरी किसानलाई हप्ताको तीन दिन ढुवानीका लागि उपलब्ध गराइने उनले बताए । वडा नम्बर ३ को पिपलाडी र जोनापुर गाउँ तरकारी खेतीका लागि अग्रणी छ । गाउँका ६० बढी किसानले व्यावसायिकरुपमा काउली खेती गरेका छन् ।
यहाँको काउली खेतीले झलारी, वन समिति, कलुवापुर, दैजी, सिसैया, सुडा र महेन्द्रनगरलगायत बजार धानेको छ । एक सिजनमा मात्रै यहाँबाट रु ८० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ ।
काउली, तितेकरेला, काँक्रा, लौका, गोलभेँडा, खुर्सानीलगायत तरकारी मौसमी, बेमौसमी यहाँ उत्पादन हुने गरेका छन् । बाह्रै महिना किसानले तरकारी उत्पादन गर्दछन् ।रासस