अत्तरिया - कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउस अत्तरियाकै अर्को ठाउँमा सरेको छ । यस अघि गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउस गोदावरी २ मै रहेको हिमालय कटेज पछाडी सरेको हो ।
साहारा बिहिनहरुको एक महत्वपूर्ण साहारा बनिरहेको सेभ हाउसमा दिनप्रतिदिन अनाथ एबम् असहाय बालबालिकाहरु बढेपछि ठाउँ अभाव हुदाँ नयाँ ठाउँमा भाडाकै घरमा सारिएको सेभ हाउसकी संचालिका जानकी मलासीले जानकारी दिइन् । उनले आफ्नो जग्गा र भवन नहुदाँ सानो घरमा सबै बालबालिकाहरुलाई राख्न समस्या भएपछि सबैका लागि सहज हुने गरी नयाँ घरमा सरेको बताइन् ।
आमा बुवा दुवै गुमाएका , बुवा बेपत्ता भएका , आमा बुवा बिभिन्न अभियोगमा जेल जिवन बिताइरहेका , दाई भाई कोहि साहारा नभएका , बुवा आमा दुवैले छोडेर अन्तै गएका , आमाको मृत्यु पछि बुवाले अर्को बिवाह गर्दा सौतेनी आमाले बस्न नदिएका , कुपोषित भएका , बेवास्तामा परेका र अति गरिब लगाएतका विभिन्न कारणले बेसहारा बनेका सुदुरपश्चिम सहित देशभरका बिभिन्न ठाउँका बालबालिकाहरुको उक्त सेभ हाउसले संरक्षण गरिरहेको छ ।
२०७३ सालमा २ जना बेसाहारा बालबालिकावाट राखेर संचालन गरिएको सेभ हाउसमा अहिल ५४ जना अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरु रहेका छन् । सेभ हाउसमा अहिले बिभिन्न ठाउँवाट सहयोग प्राप्त हुने क्रम पनि बढेको अध्यक्ष मलासीले बताइन् ।
उनले जन्मदिन , बैवाहिक बर्ष गाठ , आफ्नो शुभ कार्य , आफ्ना आमा बुवाको सम्झानमा सहयोग गर्नेहरु आइरहेको बताइन् । उनले अनाथ एबम् असहाय बालबालिकाहरुको संरक्षण गर्नु सबैको दायित्व रहेको हुदाँ सबैवाट सहयोगको अपेक्षा गरेको बताइन् । उनले अब निकट भबिष्यमै आफ्नै जग्गा र भवनमा सेभ हाउस संचालन गर्ने गरि आफुहरु अगाडी बढिरहेको बताइन् ।