बैलौरी - कञ्चनपुरमा भारतीय सुरक्षा बल (एसएसबी) का कारण नेपाली किसानहरुले बारम्बार दुख पाउने गरेका छन् । केही दिन पहिले मात्रै भारतीय एसएसबीले नेपाली किसानलाई आबतजावतमा अबरोध गरेपछि किसानहरुले आफुले लगाएको खेती समेत भित्र्याउन पाएका छैनन् ।
जिल्लाको बेलौरी नगरपालिका–१० को सडकघाट स्थित पिलर नम्बर ३५ वरपरको भूभागमा लगाएको किसानहरुको उखु र तोरी एसएसबीले दुई हप्ता देखि भित्र्याउन दिएको छैन ।
नेपालका तर्फबाट स्थानीय सरकार र सरोकारवालाहरुसँग भएको छलफलपछि ‘नो म्यान्सल्यान्ड’ सम्बन्धी कुनै समस्या नरहेको भन्ने सहमति भएपनि अझै एसएसबीले किसानले लगाएको खेती उठाउन दिएको छैन ।
एसएसबी छोटेलाल बङ्गालीले लिखित आदेश नआएसम्म भनसुनको आधारमा ‘नो म्यान्सल्यान्ड’मा हिँडडुल गर्न नदिने भनेर अवरोध गरेका हुन्।
एसएसबीले रोक लगाएपछि किसानले १२ दिनदेखि उखु मिलमा लैजान पाएका छैनन् । १२ दिनदेखि काटेको उखु खेतमै सुक्न थालेको भन्दै किसानले दुखेसो पोखेका छन् । भारतीय एसएसबीका कारण नेपाली किसान दाजुभाइहरुले काटेको उखु खेतमै सुक्न थालेको भन्दै बेलौरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले आपत्ति जनाएका छन् ।
कृषकको समस्यालाई समाधान गर्न भारतीय पक्षसँग बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक एवम् नेकपाका नेता पल्लबराज भट्ट, यज्ञप्रसाद कँडेल, हरिलाल चौधरी, समाजसेवी गोपाल पन्त, हरिश पन्त लगायत स्थानीयहरुले पटक–पटक प्रयास गरेपनि अझै सुल्झिन नसकेको हो ।