अत्तरिया - विगत लामो समयदेखि कैलाली कञ्चनपुरमा आदिवासीको रुपमा बसोबास गर्दै आएका रानाथारु समुदायले बोल्ने मातृभाषाको व्याकरण निर्माणसहित अभिलेखीकरण हुने भएको छ ।
भाषा आयोगले नेपाल रानाथारु समाजको सहयोग र समन्वयमा रानाथारु भाषाको व्याकरण निर्माण सहित अभिलेखीकरण सम्बन्धी अध्ययन गर्न सुरु गरेको छ ।
कञ्चनपुरको देखतभूलीमा नेपाल रानाथारु समाजको आयोजना र भाषा आयोगको संयोजनमा रानाथारु भाषाको अभिलेखीकरण सम्बन्धी गोष्ठीमा व्याकरण निर्माणसहितका महत्त्वपूर्ण विषयहरूमा सरोकारवालाहरुसंग छलफल गरिएको छ ।
छलफलमा रानाथारु समुदायका अगुवाहरूले रानाथारु समुदायको लोकसंस्कृति संरक्षणका लागि सरकारले उचित पहल चलाएको प्रतिक्रिया दिए ।
त्रिभुवन विश्वविद्यालय भाषा विज्ञानका सहायक डिन तथा भाषाशास्त्री डा. दुबीनन्द ढकालले रानाथारु भाषाको पहिलो पटक अध्ययन भइरहेकोले छिट्टै व्याकरण सहित अभिलेखीकरण गरिने बताए ।
रानाथारु समुदायकोसमेत प्रत्यक्ष सहभागिता र अध्ययनबाट शब्दकोश, व्याकरण र पाठ्यक्रम तयार गरी रानाथारु भाषाको अभिलेखीकरण गरिने हुँदा केही समय लागे पनि रानाथारु समुदायका लागि ऐतिहासिक सफलता प्राप्त हुने उनको भनाई छ ।
भाषा सम्बन्धी संवैधानिक व्यवस्था अनुरूप कैलाली र कञ्चनपुरमा रहेका रानाथारु समुदायको भाषा अध्ययन भइरहेको भाषा आयोगका उपसचिव गेहनाथ गौतमले बताए । उनले चालुआर्थिक वर्ष भित्रै भाषा बारे पहिलो चरणको व्याकरण निर्माण गरिने बताए ।
आफ्नो भाषाको व्याकरण निर्माणसहित अभिलेखीकरण हुने भएपछि रानाथारु समुदायमा नागरिकहरु निकै हर्षित भएका छन् । वर्तमान सरकारले रानाथारु समुदायलाई अलग्गै सुचीकृत गर्नु र रानाथारु भाषालाई समेत थप गर्नुले रानाथारु समुदायको पहिचान स्थापित भएको नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए ।
उनले रानाथारु भाषाको अभिलेखीकरण गर्ने कार्य व्याकरण बिना पूर्ण नहुने हुँदा यसको तयारीमा नेपाल रानाथारु समाज र भाषा आयोगको टोली केन्द्रित रहेको जानकारी दिए ।