अत्तरिया - आज २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मनाइँदै छ ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिएको छ । आज बोडेमा हुने यस वर्षको मूल समारोहमा गृहमन्त्री रामबहादुर थापा (बादल) प्रमुख आतिथिको रुपमा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम रहेको छ ।
कोरोना भाइरसका कारण अनलाइन प्रविधिमार्फत् र स्वास्थ्य मापदण्ड पूरा गरी देशका संघ, प्रदेश तथा स्थानीय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु हुनेछन् ।
देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदान(प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै आएको छ ।
यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान गएको थियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए ।
नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किएका थिए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी र अन्य १८ जिल्लामा आंशिक क्षति पुञ्याएको थियो ।