अत्तरिया - आज माघ १ गते अर्थात माघे संक्रान्ति पर्व । देशभर बिभिन्न तरिकाले मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघेसंक्रान्ति पर्व स्थानअनुसार भिन्न भिन्न तरिकाले मनाइन्छ ।
नाम र मनाउने तरिका स्थानअनुसार फरक छ । थारु समुदायका मानिसले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ ।
तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । सेल रोटी लगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । यता सुदूरपश्चिम प्रदेशको प्रमुख तीर्थस्थल गोदावरी धाममा स्नान तथा पुजा पाठ गर्नेहरुको भिड लागेको छ ।
माघ १ गते देखि हुने बाह्र राशि दर्शन मकर मेला कोरोनाको जोखिमलाई मध्यनजर गर्दैै यस वर्ष नभएपनि स्तस्फूर्त रुपमा स्नान गर्ने र पुजापाठ गर्नेहरुको भिड लागेको हो ।
कैलाली कञ्चनपुर सहित सुदूरपश्चिमका बिभिन्न ठाउँवाट गोदावरीमा पुगेर श्रद्धालुभक्तजनहरुले पूजा पाठ यज्ञ अनुष्ठान लगायतका नित्यकर्म गरिरहेका छन् । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ ।
उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ ।