अत्तरिया - कैलालीको अत्तरियामा आयोजीत प्रथम गोदावरी खुल्ला ब्याटमिन्टन प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी आयोजक अत्तरिया युवा क्लबले नै हात पारेको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको खेलमैदानमा आयोजीत फाईनल खेलमा टिकापुरबाट आएको कपिल बम र विजय चौधरीको टोलीलाई पराजित गर्दै आयोजकका तर्फबाट राजेन्द्र बम र दिल बहादुर धामीले उपाधी जित्न सफल भएका हुन ।
आयोजक टोलीले टिकापुरबाट आएको बम र चौधरीको टोलीलाई सोझो सेटमा पराजित गरेको थियो । उपाधी जितेसँगै आयोजक टोलीले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको बम र चौधरीको टोलीले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगीतामा २ टिमले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
तृतिय स्थान प्राप्त गर्ने पदमराज भट्ट र लक्ष्मण कुँवर तथा गणेश मिश्रा र नरेन्द्र राज पाण्डेयको टिमले नगद १० ÷१० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगीताको उत्कृष्ट खेलाडी टिकापुरका कपिल बम बनेका छन् । उत्कृष्ट खेलाडी बन्दै उनले नगद ३ हजार प्राप्त गरे ।
प्रतियोगीता अन्र्तगत नै आयोजित भेट्रान कपको उपाधी पनि आयोजकले नै हात पारेको छ । फाईनलमा नवराज शाही र पदम कार्कीको टिमलाई सोझो सेटमा पराजित गर्दै आयोजकका तर्फबाट बामदेव गौतम र अनुपम शम्शेर जबराको टिमले उपाधी जित्न सफल भएको हो ।
भेट्रानको विजेता टोलीलाई भने बोका प्रदान गरिएको छ । प्रतियोगिता पछि एक कार्यक्रमका बिच विजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो ।
क्लबका अध्यक्ष दिलिप कुमार साउँदको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक (डिआईजी) उत्तम राज सुवेदी रहेका थिए भने विशिष्ठ अतिथिमा वैधनाथ बाहिनी अत्तरियाका बाहिनिपति प्रविण कुमार श्रेष्ठ र गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख बसन्त खत्री रहेका थिए ।
क्लबका सचिव मदनराज जोशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव भरत साउँदले गरेका थिए ।