कैलाली- आज देखि पश्चिम नेपालका थारु बस्तीमा माघको रौनक बढेको छ । थारु समुदायमा नयाँ वर्षको रुपमा यो पर्व मनाउनका लागि थारु बस्तीमा रौनक छाएको छ । कामको शिलशिलामा घरबाट टाढा गएका दाजुभाइहरु पर्व मनाउनका लागि गाउँघरमा पुगिसकेका छन् । गाउँका नेतृत्वकर्ता अर्थात बरघर, भल्मन्सा, देशबन्धिया, गुरुवा, भर्रालगायत चयन माघ महिनामा चयन हुने भएकोले नेतृत्व चयनका बहस पनि सुरु भइसकेका छ ।यस्तै थारुबस्तीमा माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमारलगायत लोक गीतसँगै डफ र मादलको आवाज पनि गाउँघरमा गन्जिन लागेको छ ।
तीन दिनसम मनाउने यस पर्वको सुरुवात पुसको अन्तिम दिन अर्थात आज बुधबार देखि सुरु भएको छ । माघ १ गते नजिकको नदि, ताल, पोखरीमा नुहाउने र आ–आफ्नो आफन्तसंग भेटघाट गर्ने, अर्शिवाद लिने र दिने प्रचलन रहेका छ । माघ १ गते नुहाउनले वर्षभरि गरेका पाप, कुकर्म, वैमनष्यता पखालिने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । माघ २ गतेको दिनलाई खिच्रहवा पनि भनिन्छ । यो दिनदेखि माघी देवानी तथा खोजनी बोजनी सुरु हुने थारु बुद्धिजीवीहरु बताउने गर्दछन् ।
थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीका अनुसार माघ पुस अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म पर्व मनाउने बताए । र त्यो दिनदेखि थारु गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एंव भल्मन्सा, बरघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने बताए । यसरी नेतृत्व चयन गर्ने प्रक्रियालाई ‘माघी देवानी’ भनिन्छ ।
यस्तो प्रचलन दाङदेखि पश्चिम कञ्चनपुरसम्म रहेको छ ।एक परिवारको सबै सदस्यहरु एकजुट भएर वर्ष दिनमा भएगरेका पारिवारिक गतिविधि र अगामी दिनमा कसरी बढ्नेबारे छलफल पनि हुने गर्दछ । यसलाई ‘खोजनीबोजनी’ पनि भनिन्छ ।‘खोजनीबोजनीमा गत वर्षको परिवारिक गतिविधी, आर्थिक हरहिसाबबारे पनि छलफल गरिन्छ’, संयोजक चौधरी भने–‘छलफलबाट अगामी दिनका लागि परिवारको योजना तर्जुमा पनि गरिन्छ ।’