कैलाली - नेकपा ओली समूहका नेता एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आउँदा मुख्यमन्त्रीले स्वागत गर्ने परम्परा नमानेको भन्दै आक्रोश व्यक्त गरेका छन् । मुख्यमन्त्री भट्ट चाकरीमा लागेको भट्टको आरोप छ् । नेकपा ओली समूहले मंगलबार धनगढीमा आयोजना गरेको तेस्रो बैठकमा नेता भट्टले यस्तो आरोप लगाएका हुन ।
‘कुनै नेताको श्रीमती आउँदा मन्त्रीहरू झन्डावाल गाडी लिएर जान्छन्,’ नेता भट्टले भने, ‘तपाईं हामीले बनाएका मुख्यमन्त्री चाकरीमा रमाए ।’उनले पुष्प कमल दाहाल प्रचण्डले पार्टीमा नारायण काजी श्रेष्ठलाई ल्याएपछि पूर्व माओवादीको अवसान सुरु भएको समेत जिकिर गरे ।‘शान्ति प्रक्रियामा आइसकेपछि जनमोर्चा एकता केन्द्र भन्ने जोडिएको थियो,’ नेता भट्टले भने, ‘त्यहीँबाट पूर्व माओवादीको अवसान हुन सुरु भएको हो ।’ नेता भट्टले श्रेष्ठलाई एकतामा ल्याउनु ठुलो भूल भएको बताए ।
‘यदि उहाँलाई त्यो एकतामा नल्याएको भए माओवादी पार्टी हिजोको भन्दा ठूलो बलियो हुने थियो,’ उनले भने, ‘नारायणकाजी त्यो पार्टीमा धमिरोको रूपमा पसे र आज पनि यहाँ त्यही गरे ।’वैद्य,बादल र विप्लवले पार्टी छोड्नुको कारण पनि श्रेष्ठ रहेको भट्टको आरोप थियो ।प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट तीव्र असहयोग हुन थालेपछि बाध्य भएर संसद् विघटन गर्नुपरेको उनले सुनाए ।
भट्टले सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुने भन्दै कार्यकर्तालाई चुनावमा केन्द्रित हुन समेत निर्देशन दिएका थिए ।‘वैशाख १७ र २७ मै निर्वाचन हुन्छ,’ नेता भट्टले भने, ‘तपाईंहरू ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोस् ।’मंगलबार ओली समूहले १७५ सदस्यीय कैलालीको जिल्ला कमिटी थप गरेर ७५१ पुर्याएको छ ।