कञ्चनपुर - भारतसंग सीमा जोडिएको कञ्चनपुर जिल्लाका थुप्रै स्थानमा अझै पनि सीमा विवाद कायम रहेको छ ।
भोग चलन तथा जग्गा धनी प्रमाण पुर्जा र मूल सीमा स्तम्भ (जंगे पिलर) लाई समेत बेवास्ता गर्दै संयुक्त सीमा सर्भे टोलीले भारतले यसअघि अतिक्रमण गरेको केही भूभाग मात्रै नेपालको देखिने गरी स्थापित सीमा (जंगे पिलर) पिल्लरहरुलाई साक्षी स्तम्भ (रिफ्रेन्स पिल्लर) र नेपाल तर्फ रहेका साक्षी स्तम्भ (रिफ्रेन्स पिलर) तथा सहायक पिल्लरलाई सीमाको मूल पिल्लर स्वीकार गर्दै भारतीय क्षेत्रमै बसी तयार गरिएको स्ट्रिप नक्शा हाल कार्यान्वयन गर्न खोज्दा कञ्चनपुर जिल्लाका बिभिन्न क्षेत्रको सयौं विगाहा जमिन भारत तर्फ गाभिने खतरा देखिएको छ ।
विशेष गरी भारतसंग सीमा जोडिएका कञ्चनपुरका पुनर्वास, बेलौरी, बेलडाँडी, दोधाराचाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रमा सीमा विवाद देखिन्छ ।
कञ्चनपुरमा मात्रै सानाठूला गरी दुई सय ४७ स्तम्भ हराएका थिए । संयुक्त सीमा सर्भे टोलीलाई दुवै देशको नक्सा भिडाएर हराएका ठाउँमा नयाँ सीमा स्तम्भ राख्ने, भएका स्तम्भलाई मर्मत र रङरोगन गर्ने कार्यादेश थियो । सर्भे टोलीले हराएका स्तम्भ राख्न नसके पनि मर्मतको काम भने गरेको थियो ।
यद्यपि विवादित नक्सा लिएर सीमा सर्भे गर्न खोज्दा नागरिकस्तरबाट प्रतिकार शुरु भएपछि सीमा सर्भेको काम समेत रोकिएको हो । २०७३ फागुनमा कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर ४ आनन्द बजार नजिक नेपाली भूमिमा बनाइएको कल्भर्ट भारतीय सुरक्षाकर्मीले भत्काउन थालेपछि विरोध गर्ने स्थानीय बासिन्दामाथि भारतीय एसएसबीले गोली हानेको थियो । गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो ।
पुनर्वास नगरपालिकाको वडा नम्बर ४, ६, ८ र ९ का विभिन्न क्षेत्रमा सीमा विवाद रहेको छ ।
आनन्द बजार नजिकै रहेको २०० नम्बर पिलर हराएकाले भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । २०१ नम्बर पिलर पनि सारेर नेपाली भूमिमा गाडेको पाइन्छ । यसैगरी पुनर्वास नगरपालिका वडा नम्बर ९ बीचफाँटामा रहेको १९५ नम्बरको पिलर ढलेको छ भने १९६ नम्बर पिलर भारतीय पक्षले गायब पारेको छ ।
१९४ र १९५ नम्बर सीमा स्तम्भको बीचमा रहेको जैविक विविधताले महत्वपूर्ण मानिएको प्याराताल लगायत वरपरको करिब दुई सय बिघा जमिन कब्जा गर्न भारतले पिलर गायब पारेको स्थानीयको भनाइ छ । सीमा समस्याकै कारण कञ्चनपुरको सीमा क्षेत्रका बासिन्दा विकासका पूर्वाधारहरुबाट समेत वञ्चित बनेका छन् । निर्माणाधीन हुलाकी राजमार्ग पर्ने कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुइमा समेत भारतीय पक्षले अवरोध सृजना गर्दा सडक निर्माणमा समेत ढिलाई भएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटमा सडक फराकिलो गर्दा भारतीय पक्षबाट विवाद सिर्जना गरिएको थियो । जसबाट सडक निर्माणको काम रोकिएको छ । सोही नजिक बेलौरी १० कै भुडा र आसपासको क्षेत्र तथा बेलडाँडीको वैवाह र झिलमिलामा समेत प्रायःजसो सीमा विवाद भइरहन्छ ।
पछिल्लो समयमा त भारतीय पक्षले नेपाली भूमिको बीच भागमा रहेको सिँचाईँ नहरसम्म नै आफ्नो दावी गरिरहेको छ । बेलौरी नगरपालिका वडा नम्बर १, २ र ६ मा समेत सीमा विवाद देखिन्छ । दशगजा क्षेत्रमा कयौँ पटक अतिक्रमणका थुप्रै प्रयास भारतीय पक्षबाट भएका छन् ।
तर नेपाली स्थानीय नागरिक पटकपटक भारतीय पक्षसंग ज्यानको जोखिम मोल्दै प्रतिकारमा उत्रिएका घटनाहरु छन् । त्यस्तै, भीमदत्त नगरपालिका वडा नम्बर १० को गड्डाचौकी देखि जिमुवा र वडा नम्बर ९ ब्रम्हदेव र दोधाराचाँदनी नगरपालिकाका ठाउँठाउँमा भारतसंग जोडिएका सीमा क्षेत्रमा विवाद कायम नै छ ।
पश्चिमी सीमा नाका गड्डाचौकीमा समेत सीमा विवादित छ । केही वर्ष पहिलेसम्म महाकाली नदिमाथिको बनवासा पुल समेतको भूभाग नेपाल पक्षको थियो भने अहिले गड्डाचौकीको बजार नजिकै भारतीय सीमा सुरक्षा बलले आफ्नो नियन्त्रणमा लिएको छ । विभिन्न ठाउँमा सर्वसाधारणका खेतीयोग्य जमिन भारतीयले कब्जा गरेका छन् । जमिनको लालपुर्जा भए पनि कतिपय किसानले खेती गर्न पाएका छैनन् ।
यी त कञ्चनपुर जिल्लामा भारतीय पक्षबाट सीमा क्षेत्रमा भएका केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । यस्ता अधिकांश घटना सीमा क्षेत्रमा पटक–पटक हुने गरेका छन् ।
नेपाल–भारतबीच सीमा निर्धारण नहुँदा पटक–पटक विवाद हुने गरेको छ । कञ्चनपुर जिल्लामा पुनर्वासको डोकेबजार देखि भीमदत्तको ब्रम्हदेवसम्म १ सय २९.५ किलोमिटर दुरीमा रहेका सीमा पिलर बाहिर र भित्र देखि कमजोर अवस्थामा पुगेका छन् ।
कञ्चनपुर जिल्लाको नेपाल भारत सीमानामा भारतका चार जिल्ला खिरी, पिलिभित, उधमसिंहनगर र चम्फावत पर्दछन् । भारतको विस्तारवाद नीतिको कारण भारतीय पक्षले बेलाबेलामा नेपाली भूमि अतिक्रमण गरिरहेको र सीमा सर्भे टोलीले समेत त्रुटिपूर्ण नक्सा बोकेर सीमा छुट्याउने कार्य गर्न खोज्दा विवाद सतहमा आउने गरेको छ ।
कञ्चनपुरका विभिन्न क्षेत्रमा देखिएको सीमा विवाद, विवादास्पद स्ट्रिप नक्साका आधारमा काम गर्ने सर्भे टोलीको प्रवृत्ति र भारतीय पक्षको दादागिरीका सन्दर्भमा पटकपटक शीर्ष नेतृत्व तहमा समेत छलफल गरिसकेको अन्तर्राष्ट्रिय सीमा सरोकार समिति कञ्चनपुरका संयोजक पल्लब राज भट्टले बताउनु भयो ।
कञ्चनपुर जिल्लाको भारतसंग जोडिएको सीमा क्षेत्रहरुमा स्ट्रीप नक्सा तयार गरी सीमांकन गर्दा सयौँ बिघा नेपाली भूमि भारत तिर पर्ने गरी सीमा सर्भे टोलीले नक्सा तयार गरेकोले उक्त नक्सा सच्च्याउनु पर्नेमा आम जनसमुदायको जोड रहेको छ । रेडियो नेपाल