काठमाण्डौ - देशभर हाल १९ वटा आन्तरिक विमानस्थल बन्द अबस्थामा रहेका छन् । सडक यातायात पुगेपछि हवाई यात्रुको अभाव हुँदा, वैकल्पिक व्यवसायिक योजना नहुँदा र नेताको लहडमा खोलिएका विमानस्थलहरु बन्द रहेका हुन् । अहिले देशभर ५४ विमानस्थल छन् ।
एउटा आन्तरिक र तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । बनिसकेका ५४ मध्ये १९ वटा विमानस्थल गौचरणमा परिणत भएका छन् । बन्द भएकामध्ये कतिपय विमानस्थलमा परीक्षण उडान सम्म हुन सक्यो । देशभरका ४५ विमानस्थलमध्ये ३७ वटाको धावनमार्गमा कालोपत्र गरिएको छ ।
यसैवर्ष बैतडी, बझाङ र बाजुराका विमानस्थलहरुमा कालोपत्रे गरी नियमित उडान सूरु गरियो । मसिनेचौर र कालीकोट विमानस्थलमा कालोपत्र भइरहेको छ । खोटाङको लामिडाँडा र मनाङको हुम्दे विमानस्थल कालोपत्रे गरिएपनि बन्द छ । कतिपय विमानस्थल हेलिकोप्टर उडान अवतरणमा सिमित छ ।
सरकारले न बन्द विमानस्थल चलाउने विकल्प दिन सकेको छ न त पूर्वाधार थपेको छ । ५४ विमानस्थलमध्ये आठवटा भने चौबिसै घण्टा चल्न सक्छन् । प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलसहित विराटनगर, चन्द्रगढी, धनगढी, भैरहवा, जनकपुर, नेपालगन्ज र सिमरा विमानस्थलमा रात्रिकालीन उडानको सुविधा छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल सम्भावना भएका क्षेत्रका विमानस्थल क्रमशः संचालन गर्ने बताउँछन् । गत वर्ष कालोपत्रे गरेका सुदूरपश्चिमका विमानस्थलहरुमा अहिले उडान भइरहेको उनले बताए ।
अहिले बैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, धनगढी, डोल्पा, डोटी, जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, लामिडाँडा, फाप्लु, राजविराज, रामेछाप, रारा, रुकुम चौरजहारी, रुकुम सल्ले, रुम्झाटार, साँफेबगर, सिमरा, सिमीकोट, सुर्खेत, ताप्लेजुङ, लुक्ला, थामखर्क र तुम्लिङटार आन्तरिक विमानस्थलहरु संचालनमा रहेका छन् ।
बागलुङ (बलेवा), दार्चुला, ढोरपाटन, डोल्पा (मसिनेचौर), जिरी, कांगेलडाँडा, लाङटाङ, मनाङ, मेघौली, महेन्द्रनगर, पालुङटार, रोल्पा, स्याङबोचे, टीकापुर, गुल्मी, इलाम, खिजी चण्डेश्वरी, कालीकोट, कमलबजार विमानस्थल बन्द रहेका छन् ।