अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँमा निशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न भएको छ । भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र धनगढी र गोदावरी नगरपालिका पशु सेवा शाखाको सहकार्यमा नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ नेल्टा कैलालीको आयोजनामा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।
नेल्टा कैलालीको अध्यक्ष हंश बुढाको अध्यक्षतमा भएको कार्यक्रममा गोदावरी ८ का वडा अध्यक्ष नरेश अधिकारी प्रमुख अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र धनगढीका पशु विकास अधिकृत बिजयराम दमाई , डा. विशाल चन्द , गोदावरी नगरपालिका पशु शाखा प्रमुख राम बहादुर सार्की र नेल्टाका केन्द्रिय सदस्य शंकर खड्का बिशिष्ट अतिथी रहनुभएको थियो ।
उक्त शिविरवाट मजगाउँका एक हजार बढी पशुधनीहरुले सेवा लिएका छन् । बिहान ८ बजेदेखी दिउँसो ३ बजे सम्म संचालन गरेको उक्त शिविरमा ७ सय ३० पशुहरुको औषधी उपचार र ३ सय ८० लाई खोप लगाइएको नेल्टाका प्रवक्ता हेमन्त जोशीले जानकारी दिए ।
कार्यक्रममा सहभागी पशु प्राबिधिकहरुले कुकुरलाई रेविज भ्याक्सीन, बाख्रालाई पिपिआर भ्याक्सीन र गाईगोरु , भैसी , राँगालाई एफएमडि भ्याक्सीन लगाएका थिए । यसका साथै पशुधनीहरुलाई निशुल्क रुपमा औषधि र भिटामिन समेत बितरण गरिएको प्रबक्ता जोशीले बताए ।
गाउँघरमै आएर आफ्ना पशुहरुको निशुल्क स्वास्थ्य उपचार गरेको भन्दै स्थानियहरु निकै खुसी भएका छन् । नेल्टा कैलालीले समय समयमा जिल्लाभरीका बिभिन्न बिकट बिकट गाउँठाउँमा पुगेर निशुल्क पशु स्वास्थ्य शिबिर संचालन गर्दै आइरहेको अध्यक्ष हंश बुढाले बताए ।
उनले गाउँघरमा भेटनरी नहुदाँ बिरामी पशु औषधि उपचार नपाएर मर्नुपर्ने अबस्थाको अन्त्य गर्नु आफुहरुको उध्ेश्य रहेको बताए ।
नेल्टाका केन्द्रिय सदस्य शंकर खड्काले यसरी गाउँ ठाउँमा पुगेर निशुल्क शिविर संचालन गर्दा धेरै पशुधनीहरुलाई राहात पुग्ने बताए । उनले नेल्टा कैलालीले गरेको यस कार्यको प्रशंसा समेत गरे ।
नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ नेल्टा कैलालीकी उपाध्यक्ष सञ्जु रानाको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमाको संचालन प्रबक्ता हेमन्त जोशीले गरेका थिए ।