अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ४ खैराना पुल नजिकै एउटा चिटिक्क परेको प्रहरी बिट छ । प्रहरी बिटको भित्तामा लेखिएको छ “कोही छैन कानुन भन्दा माथि ,सुख दुखमा प्रहरी नै साथी ।” तर त्यस बिटमा सुखमा होस वा दुखमा अहिले एक जना प्रहरी साथी पाइने अबस्था छैन ।
प्रहरी बिटमा प्रहरी नै बस्न छोडिसकेका छन् । गोदावरी नगरपालिका र स्थानियको जनश्रमदानमा निर्माण गरिएको उक्त बिट यसै बर्ष गएको असोजमा उद्घाटन गरिएको थियो ।
सुरक्षाका दृष्ट्रिकोणले अत्यन्तै संम्बेदनशिल मानिएको उक्त क्षेत्रमा प्रहरीको सकिृयता बढाउन ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टको कार्यकालमा स्थापना गरिएको बिट अहिले भने सुनसान रहेको स्थानियहरुले गुनासो गरेका छन् ।
राति होस वा दिनमा एक्लै हिड्न डर लाग्ने खैरानामा २४ घण्टा प्रहरीको उपस्थिती रहने भन्दै स्थापना गरिएको प्रहरी बिटमा प्रहरी नै नभएपछि प्रहरी बिटको के काम भन्दै स्थानियहरु आक्रोशित बनेका छन् ।
अत्तरिया र श्रीपुरमा प्रहरी चौकी भएपनि बिच रहेको खैराना जंगल क्षेत्रमा प्रहरीको सकिृयता खासै नहुँदा दैनिक जसो बिभिन्न खाले घटनाहरु हुदै आएका छन् । समय समयका कुनै न कुनै घटना भैरहने सो ठाँउमा शान्ति सुरक्षा मजबुत बनाइराख्न बिगतदेखी नै खैरानाबासीले प्रहरी पोष्ट स्थापना गर्न माग राख्दै आएका थिए ।
प्रहरीले त्यहाँ बिट स्थापना गरी चौबिसै घण्टा निगरानि बढाएर अपाराधिक कृयकलापहरु न्युनिकरण गर्ने बताएपनि अहिले भने प्रहरी बिटमा चौबिसै घण्टा ताला लागेको स्थानिय गोपाल जोशीले बताए । सुरुका दिनहरुमा प्रहरीको उपस्थिती भएपनि आज भोली भने बिटमा एक दिन पनि प्रहरी नदेखिएको उनले बताए ।
यस अघि बिट नहुदाँ प्रहरीलाई निगरानी गर्न समस्या भएपनि बिट बनिसक्दा पनि प्रहरी नखटाउनु ईलाका प्रहरी कार्यालय मालाखेतीको गम्भिर लापरबाही रहेको उनी बताउदछन् । पछिल्लो समय गोदावरी नगरपालिका आसपास चोरी डकैती , लुटपाट , महिला माथि दुब्र्यहार , लागू औषधको कोरोबार बढिरहेको छ ।
यता भरखरै मात्र ईलाका प्रहरी कार्यालय मालाखेतीको कमाण्ड सम्हालेका नयाँ कार्यालय प्रमुख डिएसपी प्रेम बहादुर शाहीले ईप्रका मालाखेतीमा प्रहरीको जनशक्ति अन्त्यन्तै न्युन रहेकाले समस्या भएको बताए ।
उनले बिटमा २४ घण्टा प्रहरीलाई राखेर निगरानी बढाइने बताएपनि आफुहरुसंग जनशक्ति अभाव भएकाले अहिले भने प्रहरी बिटमा २४ सै घण्टा प्रहरीको उपस्थिती गराउन नसकिएको बताए । यस्तै यसका लागि आवश्यक जनशक्तिको माग गरेको डिएसपी शाहीको भनाई छ ।