टिकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी लगायतलाई रिहाइको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । जनता समाजवादी पार्टी नेपाल लगायत विभिन्न २१ वटा संघ संगठनले टीकापुर थरुहट÷थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियान गठन गरी आन्दोलनको घोषणा गरेको हो ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी टीकापुर घटनामा कैलाली जिल्ला अदालतले यसअघि २०७५ फागुन २२ गते दोषी ठहर गरेको फैसलालाई उच्च अदालत दिपायलले २०७७ पुस २ गते वस्तगुत अनुसन्धानमा आधारित नभएर पूर्वग्रही ढङ्गले शुरु सदर, उल्टी र थप सजाय गरेकोमा आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।
राज्यको सुरक्षा निकायहरुको एकपक्षीय प्रमाणको आधारमा झुट्टा मुद्दा लगाई पीडित पक्षलाई अझ पीडित बनाउने नियतले गरेको अनुसन्धानलाई मात्र आधार मानेको अभियानको आरोप छ ।
पहिलो र दोस्रो चरणको अभियान नाम दिइएको आन्दोलन कार्यक्रममा विभिन्न पक्ष र क्षेत्रका व्यक्तिसँग अन्तक्रिया गर्ने, प्रदर्शन गरी सिडिओहरुलाई ज्ञापनपत्र पेश गर्ने, पेनडाउन गर्न लगाउने, लाठी जुलुस प्रदर्शन गर्ने, आमसभाको आयोजनादेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तय भएको अभियानले जनाएको छ ।
अभियानले रेशम चौधरी लगायतका व्यक्तिहरुमाथि झुठ्ठा मुद्दा लगाई कैद सजाय तथा जन्मकैद फैसला गरिएका ती सबैको झुठ्ठामुद्दालाई सरकारले राजनीतिक घटनाक्रमको रुपमा लिँदै राजनीतिक संवाद, सहमति र निर्णयको आधारमा मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निशर्त रिहाय गर्न माग गरेको छ ।