धनगढी -नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्र देखी नै दुई समुह बनेपछि सुदूरपश्चिम प्रदेश सरकार फेर्ने कसरत शुरु भएको छ । मंगलबारप्रधानमन्त्री केपी शर्मा ओलीनिकट भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहरालाई पदमुक्त गरेसँगै यँहाको राजनितीमा फेर बेदल हुने देखिएको छ । प्रचण्ड -माधव समुह आफ्ना सांसदहरुलाई जसरी पनि जोगाउने रणनितीमा रहेको छ ।
उता ओली समुह आफ्ना पक्षमा सांसदहरु बढाउने कसरतमा लगेको छ । नेकपाका सुदुरपश्चिमका मुख्य नेता लेखराज भट्ट अहिले ओली समुहमा लागेपछि धेरै नेताहरु उनको प्रभाबमा पनि ओली समुहमा जाने अनुमान गरिएको छ । लेखराज भट्ट ओली समुहमा जाँदा उनले शुरुमा तल्लो कमिटी सँग खासै कुरा गरेका थिएनन् । उनले पार्टी एक ठाउँमा राख्न नै आफुले तल सम्म कुरा नगरेको बताउँदै आएको छ । तर अब भट्ट पनि खुलेरै लागेका कारण प्रदेश सभाको राजनितीमा फेरबेदल हुने देखिएको हो ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि लेखराज भट्ट निकट नेता हुन । लेखराज भट्टकै प्रस्ताबमा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भट्ट आँफै पनि प्रचण्ड -माधव समुहमा आफु सुरक्षित नरहेको बताउन थालेका छन् । यस्तै भौतिक पूर्वाधार विकासमन्त्रीमा पनि सांसदहरुले आ आफ्नो लबिङ शुरु गरेका छन् ।
नयाँ मन्त्री कसलाई बनाउने भन्नेमा माधव -प्रचण्ड समुह अलमलमा परेको छ । मन्त्रीको लागी धेरै आकांक्षी देखिन थालेपछि उक्त समुह दबाबमा परेको हो । प्रदेश सभाका प्रचण्ड माधव समुहका एक सांसदले अहिले नै सरकार फेरबदल हुने सम्भाबना त छैन तर छलफल चलिरहेको बताए ।
यस्तो छ सुदूरपश्चिम प्रदेशको अंक गणित
सुदूरपश्चिम प्रदेश सभामा ५३ सांसद छन्। तीमध्ये ३९ जना नेकपा, १२ जना कांग्रेस र २ जना जनता समाजवादी पार्टीका छन्। नेकपाका ३९ सांसदमध्ये सुरुमा ४ जना मात्रै ओली पक्षमा खुलेका थिए।
तर अहिले आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा, पठानसिंह बोहरा, रतन थापा, नेपालु चौधरी, कुन्ती जोशी, लीलाधर भट्टसहित १३ जना सांसद आफूसँग रहेको ओली पक्षको दाबी छ।
प्रदेश सरकारमा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। ओली पक्षलाई अहिले दावी गरेका सांसदले सहयोग गरे भने पनि सरकार गठनका लागि थप १४ सांसद आवश्यक पर्छ। यसका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस वा जनता समाजवादी पार्टीले साथ दिनुपर्ने हुन्छ।