काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहालको मामुली कार्यकर्ता मात्र भएको आरोप लगाएका छन्।सुदूरपश्चिम क्षेत्रका आफूनिकट नेकपाका कार्यकर्ता तथा नेताहरूको राजधानीमा भएको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्। मलाई केही पनि भन्नु छैन,’ उनले भने,‘ उहाँ (माधव नेपाल) सधैँ उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो। उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुनेछ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् ।‘मैले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गरेको थिएँ । एकतालाई जोगाउन मैले प्रचण्डसँग पटक–पटक सहमति गरेँ । प्रचण्डसँग सहमति गर्दा मेरो एउटा ब्रिफकेस नै भरिएको छ । तर, वहाँले सहमति कार्यान्वयन गर्नुभएन,’ उनले भने।
उनले एकता गर्नका लागि पूर्वमाओवादी पक्षलाइ ४० प्रतिशत हिस्सा दिएको स्मरण गर्दै अहिले सोही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग भएकोमा दुःख व्यक्त गरे । ओलीले भने, ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट थियो, त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने मलाई थाहा थियो । तर एकताका लागि मैले ४० प्रतिशत दिएँ । तर, वहाँले त्यो शक्ति बहुमतको खेलमा लगेर केन्द्रित गर्नुभयो जसले गर्दा पार्टी यो स्थितिमा पुग्यो।’
अध्यक्षले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गरे। ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिनँ। चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ। अब चुनावको तयारी गर्नुहोस्,’ उनले भने, ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस्।’
प्रधानमन्त्री ओलीले प्रचण्डलाई सुधार गर्न खोज्दा पनि नसकेको बताए । 'कति स्याम्पु सकियो। ट्यांकीका ट्यांकी पानी सकियो। साबुन लगायो, पखाल्यो जस्ताको त्यस्तै अन्तिममा तपाईँले देख्नु भयो,' उनले भने।