अत्तरिया - आज पुसे १५ । मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् । आज सुदूरपूर्वका किरात देखि सुदूरपश्चिम प्रदेशका बासिन्दाले समेत एकैदिन आ आफ्ना पर्वहरु मनाउँदैछन् । सामान्यतया मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो ।
आजकै दिन नेवार समुदायले धान्य लक्ष्मीको प्रतिमा स्वरूप योमरीको पूजा गर्ने गर्छन् । प्रकृतिपूजक किरातहरूले यही दिनलाई उधौली पर्वका रुपमा मान्ने गर्छन् भने पहाडी भेगका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुल पूजा गर्छन् ।
त्यसैगरी तिथिको साटो गते अनुसार हरेक वर्ष पुस १५ मा पर्ने गुरुङ जातिको ल्होछार पर्व आजकै दिन परेको छ । समग्रमा भन्दा यो वर्षको पुस १५ विविध सांस्कृतिक पर्वहरूको संगम बनेको छ ।
ज्योतिषीय हिसाबले मंसिर पूर्णिमाको त्यति धेरै महत्व रहेको पाइँदैन । तर, सूर्य दक्षिणायनबाट उत्तरायणोन्मुख रहेकाले यही दिनदेखि दिन लामो र रात छोटो हुन्छ भन्ने तर्कको ज्योतिषीय आधार रहेको पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई बताउँछन् ।
कृषिप्रधान मुलुकमा धान भित्र्याइसकेपछि फुर्सदिलो बनेका किसानहरुले पूर्णिमाको पवित्र दिन या रातमा विभिन्न नाच एवं पर्व मनाउन थालेका हुन् ।
पूर्णिमा आफैँमा पवित्र तिथि हो, फुर्सद भएपछि त्यही मंसिर पूर्णिमामा धेरैले चाडपर्व मनाउन थालेसँगै यसको महत्व त्यसैले बढाएको हुन सक्ने तर्क भट्टराई गर्छन् ।
यता सुदूरपश्चिममा आजको दिनलाई ‘ठुलीरात’ रुपमा मनाइँने गरिन्छ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको छ ।
आजको रातभरि दन्त्यकथा, कहानी सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने गरिन्छ । पन्नरी रात’का रूपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकार खाने गरिन्छ ।