अत्तरिया - सुदुरपश्चिम प्रदेशको प्रवेशद्धारा कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालले अब ३० रुपैयाँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । अस्पतालले विपन्न तथा दुरदराजका जनतालाई सस्तो र सहज रुपमा सेवा दिने उद्देश्यका साथ ३० रुपैयाँमै विशेषज्ञ सेवा उपलब्ध गराउने भएको हो ।
सुदूरपश्चिमाञ्चल अस्पताल २०७१ सालबाट सरकारी र सामुदायिक लगानीवाट अत्तरियामा संचालनमा रहेको छ । अस्पतालको प्रचारप्रसार नहुँदा बिरामीहरु सो अस्पतालसम्म नपुगेको अस्पतालका सञ्चालक आनन्द भट्टले बताए । उनले गरिब, असहाय, अशक्तलाई सस्तो र सहज उपचार सेवा अस्पतालले दिइरहेको उनले बताए ।
विपन्न समुदायका नागरिकले सामान्य स्वास्थ्य जाँचका लागि पनि ५ सय रुपैयाँ शुल्क तिरेर लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले खोलिएको सामुदायिक अस्पतालमा बिरामीको चाप भने देखिँदैन ।
नाफा आर्जन गर्ने उद्देश्य नभई जनताको सेवाका लागि अस्पताल सञ्चालनमा ल्याएकाले सरकारी सरह सुविधा दिइरहेको सञ्चालक भट्टको दाबी गरे । चेकजाँचका लागि ५ सय रुपैयाँ टिकट काट्नुपर्ने ठाउँमा सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालमा ३० रुपैयाँमै चेकजाँच गर्न मिल्ने उनको भनाइ छ ।
सामुदायिक अस्पतालले २४सै घण्टा सेवा दिनुका साथै विभिन्न समयमा निःशुल्क शिविरसमेत चलाउने गरेको छ । सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पतालले आकस्मीक सेवा, आइसियु, मेजर, माइनर ओटी वार्ड, प्याथोलोजी, एक्सरे, इन्डोस्कोपी, भिडियो एक्सरे, इसीजी, फिजियोथेरापी, जनरल हेल्थ प्याकेज, औषधी पसल, एम्बुलेन्स सेवा लगायतका सुविधा दिइरहेको अस्पतालका डक्टर विश्वम्भराज जोशीको भनाइ छ । उनले ७० वर्ष भन्दा माथिका बिरामीका लागी अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको बताए ।