अत्तरिया - यही पुस ११ गते देखी सुरु हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली छनोट गरिएको छ । प्रदेशभरकै छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिमको महिला टोली छनोट गरिएको हो ।
जसमा विन्दु रावल (कप्तान), रुवि पोदार (उपकप्तान), मञ्जु बोकटी (विकेट किपर), रीतु कनौजिया, कविता जोशी, डली भट्ट, लक्ष्मी साउद, कविता कुँवर, दिव्या कार्की, सुनिता लुहार, दीपा जोरा, स्नेहा महरा, रेवती धामी र सम्झना खड्का छनौट भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
यस्तै, मनिषा चौधरी, शोभा रोकाया, सुधा धामी र पवित्रा धामी बैकल्पिक खेलाडीका रुपमा छनोट भएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुस ११ देखि १९ गते सम्म दाङको लमहीमा प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा आठ टोली सहभागी हुने छन् ।
जसलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनी र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिनको दोस्रो खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।