महेन्द्रनगर - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा पक्राउ परेका विशाल चौधरीले कञ्चनपुरका पाँच प्रहरीविरुद्ध उजुरी दिएका छन् । गत मसिरमा निर्मला हत्याकाण्डमा पक्राउ परेका भीमदत्त नगरपालिका १८ सालघारीका १६ बर्षिय विशाल चौधरीले आफुलाई याताना दिएको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुखसहित पाँच प्रहरी विरुद्ध सरकारी वकिल कार्यालयमा उजुरी दिएका हुन् ।
अघिल्लो दिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गर्न जादा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि शुक्रबार सरकारी वकिल कार्यालयमा दर्ता गराएका छन् । चौधरीले अघिल्लो दिन तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिएसपी कुवेर कडायत, प्रवक्ता डिएसपी कृष्णराज ओझासहित चार जनाविरुद्ध उजुरी दिएका थिए ।
शुक्रबार उनले सरकारी वकिल कार्यालयमा दिएको उजुरीमा उनीहरु सहित प्रहरी उपरीक्षक दुर्गा सिंह चन्द र दुई नाम नखुलेका पाँच प्रहरीविरुद्ध उजुरी दिएका हुन् । अधिकारकर्मीसहित पीडितले प्रहरीमा दिएको जाहेरी दर्ता नगरेपछि कानुनअनुसार सरकारी वकिल कार्यालयमा उजुरी दिएको बताए । पीडित पक्षले सरकारी वकिल कार्यालयमा उजुरी दिएपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएकोे छ ।
मुलुकी अपराध (संहिता) ऐन ०७४को ५ दफा (२) उपदफा (१) बमोजिम उजुर प्राप्त भएमा सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा प्रहरी कार्यालयले त्यसको अभिलेख राखी त्यस्तो जाहेरी दरखास्त वा सुचना आवश्यक काबारहीका लागि सम्बन्धित कार्यालयमा पठाउनु पर्ने प्रावधानअनुसार सरकारी वकिल कार्यालयले प्रहरीलाई पत्र पठाएको हो ।
जिल्ला न्यायधिवक्ता देवराज भारतीले कार्यालयले आवश्यक कार्बाहीका लागि प्रहरीलाई पत्र पठाएको जानकरी दिए । पत्रमा मुलुक कायविधि संहिता २०७४ को दफा ५ बमोजिम आवश्यक कार्बाहीका लागि लेखी पठाई दिनु भनि जनाएको उनले बताए ।
उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयबाट उजुरीसहित पठाएको पत्र दर्ता भएको जनाएको छ । सरकारी वकिल कार्यालयबाट आएको पत्र मात्रै दर्ता गरिएको कञ्चनपुरकार प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले बताए ।