धनगढी - नेकपा भित्रको बिबाद चुलीमा पुगेको बेला सुदुरपश्चिम प्रदेशमा नेताहरु आ-आफ्नो कित्ता क्लियर गर्न थालेका छन् । प्रदेशका मन्त्री देखी अन्य नेताहरु पनि आफ्नो लाइनमा जान थालेका छन् । संसद विघटन भएपछि केन्द्रमा नेताहरुले आन्तरिक बैठक तिब्र पारेको बेला प्रदेशका
प्रधानमन्त्री केपी शर्मा ओली पक्ष भने सुदूरपश्चिम प्रदेश सभामा कमजोर देखिएको छ । यदपी अझै कतिपय नेताहरुले आफु कुन लाइनमा हो भने खुलाउन चाहेका छैनन । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सदस्य रहेकोमा मुख्यमन्त्री भट्टसहित ३४ जना दाहाल–माधव समूहमा देखिएका छन् ।
नेकपा संसदीय दल सुदूरपश्चिमका नेता तथा मुख्यमन्त्री भट्ट, उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल बहादुर रावल सहितका सांसद प्रचण्ड– माधव समूह नजिक छन् । यो समूहमा तटस्थ भूमिकामा रहेका सभामुख अर्जुन बहादुर थापा र उपसभामुख निर्मला जोशी बडाल पनि पर्छन् ।
आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा तटस्थ देखिएका छन् । तर उनी ओली पक्षिय नेता लेखराज भट्ट निकट रहँदै आएका छन् । ओली समूहमा प्रष्टसंग खुलेका एक मन्त्रीसहित तीन जना सांसद मात्र छन् । भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सांसद रतन थापा र प्रदेश सभा सदस्य नेपालु चौधरी ओली समूहका प्रष्टसंग खुलेका सांसद हुन् ।
प्रदेश सभा सदस्य कुन्ती जोशी र लिलाधर भट्ट पनि ओली नजिक मानिन्छन् । बिगतमा प्रचण्ड निकट मानिएका उधोग मन्त्री तथा यस क्षेत्रका प्रभाबशाली नेता लेखराज भट्ट ओली खेमामा गएपछि यँहाको स्थितीमा पनि फेरबदल आउन सक्ने मनिएको छ ।