धादिङ - धादिङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको कार्कीगाउँबाट तरकारी लिएर वैरेनी तर्फ जादै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा आज दुर्घटना हुदा ५ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि अन्य १० जना घाइते भएका छन् । मृत्यु हुनेमा गल्छी गाउँपालिका ४ का राजु रम्तेल, सेतु मिजार , सबिता अधिकारी र गल्छी गाउँपालिका ६ का नानु तामाङ, कान्छी भुजेल रहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा गल्छी गाउँपालिका ४का कान्छी भुजेल, बिष्णु अधिकारी, सुनिता मिजार, सुजिता अधिकारी, सन्तोष रम्तेल, कृष्ण सार्की, रेनु भण्डारी, राम कृष्ण प्याकुरेल, शुष्मा लामा र अन्य दुईको पहिचान खुल्न सकेको छैन ।
प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार जिप सडकबाट २० मिटर तल खसेको थियो । प्रहरी उपरीक्षक बैदवारका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसानहरु जिपमा चढेका थिए । दुर्घटनामा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइतेहरुलाई भने उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको उनले बताए । कच्ची सडकको उकालोमा जाँदै गरेको जिप चढ्न नसकेर पछाडि फर्केपछि सडकबाट तल झरेको बताइएको छ ।