बैतडी - जिल्लाको मेलौली नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम अगाडी बढाईएको छ । औद्योगिक ग्राम स्थापनाको लागि भौतिक संरचनाको काम पुस महिना भित्रै देखि शुरु हुने भएको छ । डिपिआर रिपोर्ट अन्तिम चरणमा रहेकोले केही दिनभित्रै औद्योगिक ग्राम स्थापनाका लागि भौतिक संरचनाका कामहरु अगाडी बढ्ने मेलौली नगरपालिकाले जनाएको छ ।
डिपिआर रिपोर्टलाई पर्खिरहेका र केही दिनभित्रै रिपोर्ट आउने र त्यसपछि भौतिक संरचनाको कामलाई अगाडी बढाइने मेलौली नगरपालिकाकाका प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“ रिपोर्ट आएपछि टेण्डर गर्ने कि उपभोक्तालाई काम दिने भन्ने टुंगो लाग्छ,सबैभन्दा पहिला सडक निर्माण गर्ने, खानेपानीको व्यवस्थापन गर्ने,फिल्ड कटिङको काम हुनेछ” बहुबर्षिय योजना भएपनि औद्योगिक ग्राम स्थापनाका कामलाइ अब ढिलाई नगरिने नगरप्रमख नायकको भनाई छ। मैलौली नगरपालिकाको वडा नं १,३,५ र ६ सीमाक्षेत्र सिरोडामा औद्योगिक ग्राम स्थापना हुन लागेको हो ।
संघीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि गत बर्ष नै ९२ लाख रुपैंया पठाइसकेको छ । औद्योगिक ग्रामका लागि उक्त क्षेत्रमा फलाम, चुनढुंगा ,तामाको खानी लगायतका खानी रहेका छन् ।
यी बाहेक, नेपाली कागज बनाउने लोक्ता, बाँस निङ्गालो, केत्तुके, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिठ्ठा, अमला लगायतको बहुमुल्य खानी रहेका छन् ।
मेलौलीमा औद्योगिक ग्राम स्थापना भएपनि स्थानीयस्तरमै रोजगारीको सिर्जना हुने विश्वास गरिएको छ। सरकारलेसाना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको हो । रासस