अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा ५ सय २ जनाको परीक्षण गर्दा थप १ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४ सय १ जनाको नमूना परीक्षण गर्दा ७१ जनामा कोरोना पुष्टि भएको छ । जसमा गोदावरी नगरपालिकाका ४ जना , धनगढी उप–महानगरपालिकाका २० जना , टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकाका ३÷३ जना, गौरीगंगा नगरपालिका र लम्किचुहा नगरपालिकाका १÷१ जनामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १७ जना, दोधारा चाँदनी नगरपालिकाका ७ जना, बेदकोट नगरपालिकाका ४ जना, यस्तै पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका २÷२ जना , बैतडीका ३ जना र डोटीका १ जनामा पनि कोरोना पुष्टि भएको उनले बताए ।
उता डडेल्धुरा अस्पताल प्रयोगशालामा ९ जनाको परीक्षण गर्दा १ जना , जिल्ला अस्पताल बझाङमा ४५ जनाको नमूना परीक्षण गर्दा ३ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४७ जनाको नमूना परीक्षण गर्दा २६ जना संक्रमण पुष्टि भएको छ ।
यो सँगै सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या १२ हजार ९ सय ५१ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार १ सय ६ जनाले कोरोना जितेका छन् भने ६७ जनाको मृत्यु भएको छ ।