कञ्चनपुर - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमान्तकृत समुदायको आवासमा पहुँच पुर्याइने बताएका छन्। मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत भूमिहीनहरुका लागि निर्माण हुने आवासको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सुकुम्बासी, भूमिहीन, विपन्न परिवारका लागि नौवटै जिल्लामा सुरक्षित आवास निर्माण गरिने बताए।
उनले घरबारविहीन कमजोर वर्गका बासिन्दाका लागि चालु आवमा सञ्चालित कार्यक्रमअन्तर्गत १०० भन्दा बढी घर निर्माण गर्ने लक्ष्य लिइएको बताए।
प्रदेशका सबै जिल्लामा सुरक्षित आवास निर्माणका लागि अध्ययन कार्य भइरहेको कुरामा जोड दिँदै उनले खानेपानी, विद्युत्, स्वास्थ्य, सडकलगायतका पूर्वाधारसमेत आवास क्षेत्रमा पुर्याइने बताए।
उनले भने, “थोरै घरहरुबाट निर्माणकार्य कार्यक्रम सञ्चालन गरेका छौँ, यसलाई ठूलो स्तरमा अगाडि बढाउने योजना छ।”
घरवासविहीन परिवारका लागि सुविधायुक्त बस्ती विकास गरी रोजगारीसँग जोड्नका लागि जडीबुटी, कृषिलगायत आयआर्जनका कार्यक्रमसँग जोडेर लैजाने योजनासमेत साथसाथ लैजाने सोच अघि सारिएको उनले बताए।
सुरक्षित आवास बनाउने योजना गत वर्ष नै तयार गरिएको चर्चा गर्नुहँुदै उनले कोभिड सङ्क्रमणका कारण कार्यक्रम अगाडि बढाउन नसकिएको बताए।
उद्यम गर्नका लागि बिनाधितो कर्जा कार्यक्रमसमेत सञ्चालन गरिएकाले यसबाट विपन्न परिवारलाई व्यवसायसँग जोडेर स्वरोजगार बनाउन मद्दत पुग्ने उनले बताए। फरक प्रसङ्गमा बोल्दै उहाँले प्रदेश सरकारले एक हप्ताअघि प्रदेशअन्तर्गतका सबै अस्पतालमा अक्सिजन प्लान्ट र ल्याबको व्यवस्था गर्ने निर्णय गरेको बताए।
मङ्गलबार मात्रै प्रदेश सरकारको मन्त्रिपरिषद्ले द्वन्द्वका क्रममा बन्द भएको मझगाउँ विमानस्थल सञ्चालनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकार मिलेर स्तरोन्नति गर्नेलगायतका काम अगाडि बढाउने निर्णय गरेको उनले बताए।
भूमि व्यवस्था तथा सहकारीमन्त्री विनिता चौधरीले पिछडिएको समुदायलाई प्राथमिकतामा राखेर एकीकृत बस्ती विकासको कार्यक्रम सञ्चालन गरिएको बताए।
उनले कञ्चनपुरको वेदकोट नगरपालिका–५ धर्मपुर, डोटीको सिलगढी, कैलालीको भजनी र अछामको मेललेकमा एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत चालु आवमा सुरक्षित आवास निर्माणका लागि कार्यक्रम सञ्चालन गरिएको बताए।
जोखिमयुक्त बस्तीलाई सुरक्षित बनाउनका लागि डिपीआर तयार गरी बस्ती विकास गर्न लागिएको उल्लेख गर्नुहँुदै उनले बस्ती विकाससँगै कृषिसँग सम्बन्धित आयआर्जनका कार्यक्रमलाई समेत सँगसँगै जोडेर लैजानका लागि योजना बनाइएको बताए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले आवास पाउने अधिकार संविधानतः सबै नागरिकलाई भएको बताए। संविधानमा भएको व्यवस्थासँगै चुनावमा गरिएका प्रतिबद्धताअनुसार घरवारविहीन परिवारलाई प्राथमिकतमा राखेर आवास निर्माण भइरहेको उनले बताए।
आवाससँगै वर्षौँदेखि भूमिको मालिक हुन नसकेका परिवारलाई जग्गा धनीपुर्जा वितरण कार्य गर्ने उनले बताए। संविधानसभाका सदस्य टेकेन्द्रप्रसाद भट्टले विपन्न परिवारलाई आवास दिएर वर्तमान सरकारले चुनावमा गरेको प्रतिबद्धता पूरा गरेको बताए। हरेक नागरिकले आवास पाउने मौलिक हकमा व्यवस्था भएअनुसार त्यसको कार्यान्वयन गर्ने कार्य गरिएको उनले बताए।
सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्काले वेदकोटको धर्मपुर सुकुम्बासी, भूमिहीन, मुक्त कमैया र मुक्त हलियाको बसोवास रहेको क्षेत्रका रूपमा परिचित रहेकाले प्राथमिकतामा राखेर आवास निर्माणको काम हुन लागेको बताए। समाजमा पिछडिएका समुदायलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि आवासको व्यवस्थासँगै जीवन निर्वाह गर्नका लागि व्यावसायिक कार्यमा समेत जोड्ने योजना ल्याउन लागेको उनले बताए।
वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले नगरपालिकाको दुर्गम क्षेत्रमा रहेको बस्तीका विपन्न परिवारका लागि आवास निर्माण गर्ने काम गरेर प्रदेश सरकार धन्यवादको पात्र भएको बताए। वेदकोट–५ धर्मपुरमा मुख्यमन्त्री एकीकृत नमूना बस्ती कार्यक्रमअन्तर्गत आवासविहीन परिवारका लागि प्रदेश सरकारले २५ र हेविटाट नामक गैरसरकारी संस्थाले पाँच गरी ३० शौचालयसहितका दुईकोठे घर निर्माण गरिनेछन् ।
सो बस्तीमा यसअघि सांसद धामीको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आठवटा सुरक्षित घर निर्माण भइसकेका छन् । तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत बस्तीका पाँचवटा परिवारका लागि घर निर्माणको काम नगरपालिकाले शुरु गरेको छ ।
रासस