अत्तरिया - कैलालीको गौरीगंगा नगरपालिकाले नगर भित्रका सुत्केरी महिलाहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । गौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवाले आर्थिक बर्ष २०७६/०७७ को नीति कार्यक्रम सम्बन्धमा सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले नगरपालिकामा तीन वटा एम्बुलेन्स् खरिद गरेको बताउदै एउटा एम्बुलेन्स सुत्केरी महिलाहरुकै लागि खरिद गरेको बताए ।सुत्केरी लाई तुरुन्त अस्पताल पुर्याउन सजिलो हुनुका साथै शिशु र आमा दुबै यातायातकै कारणले जोखिममा नपरुन भन्ने उद्देश्यले नीतिगत रुपमै यस्तो प्रस्ताब ल्याएको उनको भनाई छ ।
“समृद्ध गौरीगंगा नगर विकासको आधारः कृषि, जैविक विविधता, पर्यटन र पूर्वधार” भन्ने नारा सहित तयार पारेको नीतिमा भौतिक पूर्वधार, कृषि तथा पशुपालन, शिक्षा तथा खेलकुद, स्वास्थ्य खानेपानी तथा सरसफाई, सुशासन, बन वातावरण तथा भूसंरक्षण, महिला बालबालिका तथा यूवा, आदीबासी जनजाती, दलित अपांगता, जेष्ठ नागरिक, सामाजिक विकास, विद्युत, पर्यटन, राजस्व तथा आर्थिक नीति प्राथमिकतामा राखेका छन् ।