अत्तरिया - मौसम बदली भएसंगै चिसोको अनुभुति सुरु हुन थालेको छ । गर्मी महिना सकिए संगै क्रमिक रूपमा विस्तारै जाडोले छोप्न थालेको हो। जाडो मौसम सुरु भएसँगै चिसोका कारण शरीरमा विभिन्न खाले समस्याहरु आउने गर्दछन् । खासगरी जाडो मौसममा चिसोका कारण बृद्धबृद्धा र बालबालीकाहरु धेरै प्रभावित हुने गर्छन् ।
जाडोमा नबजात शिशु बालबालीकादेखि बृद्ध सम्मले बिशेष साबधानी अपनाउनुपर्ने चिकीत्सकहरू बताउछन । जाडोका बेला सामान्य रुघाखोकीदेखि ज्वरोसम्म देखा पर्ने गर्दछ ।
चिसोबाट जोगिन सकियो भने धेरै रोगहरूबाट बच्न सकिन्छ। यस समयमा मुटुका विरामीहरुले पनि आफूलाई बढी ख्याल गर्नुपर्छ ।
जाडो महिनामा मानिसको प्रतिरक्षा प्रणाली जोखिममा हुने हुनाले विशेस सतर्कता अपनाउने गर्नु पर्दछ । चिसो मौसममा विभिन्न खाले एलर्जी, छालाको समस्या, मुटुसम्बन्धी समस्या, रुघाखोकी र ज्वरो, हाइपोथर्मियाजस्ता समस्या देखिने गर्दछन । शरीरलाई पर्याप्त तातो बनाउन आवश्यक उर्जा उत्पन्न हुन नसक्दा हाइपोथर्मियाजस्ता रोग लाग्न सक्ने चिकीत्सकहरु बताउछन्।
चिसोका कारण शरीरको तापक्रम ९५ डिग्री फरेनहाइटभन्दा कम हुनु हाइपरथर्मिया हो। चिसोबाट बच्न पर्याप्त मात्रामा न्यानो कपडा लगाउने, मनतातो पानी पिउने, टोपी, मखलर, मोजा र पञ्जा लगाउने गर्नुपर्दछ । मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरीक काम गर्नु हुदैंन। बिहान बेलुकि बढि जाडो हुने हुनाले घरभित्रै बस्नुपर्छ। चिसोमा सरुवा रोगबाट बच्न सरसफाइमा विशेस ध्यान दिनुपर्ने हुन्छ।
त्यस्तै जाडो मौसममा तातोपानीले भन्दा मनतातो पानीले नुहाउने गर्नुपर्दछ । साथै शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरू लगाउनुपर्छ। जाडोमा सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको जोखिम उच्च मात्रामा हुन्छ। बालकहरूमा प्रतिरक्षा प्रणाली त्यति विकास भइसकेको हुदैन।
वृद्धवृद्धाहरुमा पनि प्रतिरोधको क्षमता कम हुने भएकाले ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले विकराल रूप लिनसक्ने खतरा हुन्छ । त्यसैले कुनै समस्या हुनासाथ तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्छ ।
साना बच्चाहरूमा पनि श्वासप्रश्वास र निमोनिया छ भने तुरुन्तै अस्पताल लगेर उपचार गराउनुपर्छ। त्यस्तै चिसोबाट बच्न पोषणयुक्त सन्तुलित खानेकुरा खाने, भिटामिन सी पर्याप्त पाइने फलफूल तथा सागपात खाने र शारीरीक व्यायाम पनि गर्नुपर्दछ ।