प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर देशव्यापी विरोध प्रदर्शन गर्न लागेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।
सुरु देखि नै सरकार प्रति नरम नीति लिएको कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकडपछि अझ बढी चिढिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आज देशभर हुने प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसंगै सबै लोकतन्त्रपक्षधरलाई अपील गरेका छन् ।
विरोध प्रदर्शनको अघिल्लो दिन हिजो विज्ञप्ति जारी गर्दै देउवाले कोरोना महामारीको समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न र गराउन आग्रह गरेका छन् ।
सभापति देउवाले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रुपमा लिएको दावी गर्दै अब संसद र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने स्पष्ट पारे । उनले हिजोको विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको बताए ।
सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ। सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दावी कांग्रेसको छ । यसै क्रममा देशभर हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्न कांग्रेसका केन्द्रीय नेताहरु विभिन्न जिल्ला जिल्लामा पुगेका छन् ।
पार्टी सभापति देउवा हेटौडा पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्नेछन् । यता कैलालीमा पनि नेपाली काग्रेंस कैलालीले पार्कमोडमा विरोध सभा आयोजनाको तयारी गरेको छ ।
आज मध्यान्ह धनगढीको पार्कमोडमा विरोध सभा हुनेछ । कैलालीको धनगढीमा हुने बिरोध सभालाई काँग्रेस नेता गगन थापाले सम्बोधन गर्ने भएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता थापा धनगढीको बिरोध सभा सम्बोधन गर्नका लागि आज धनगढी पुग्न लागेको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले जानकारी दिए ।