धनगढी - कुनै समयमा वनमा त्यसै खेर जाने सालको पातबाट धनगढीका महिलाहरुले दुनाटपरी बनाएर मनग्य आम्दानी गरीरहेका छन्। सालको पातबाट बन्ने दुनाटपरी विवाह, व्रतबन्ध र पूजापाठमा अत्यावश्यक मानिन्छ।
मंसिर महिनामा विवाह बढेसँगै बजारमा दुनाटपरीको राम्ररी बिक्रीको माग बढेको महिलाहरु बताउँछन्। धनगढी उपमहानगरपालिका–१४ फूलबारीकी सरिता बुढा मगर र भावना पुलामी मगरले सञ्चालन गरेको दुनाटपरी उद्योगबाट गाउँका गाउँका करिब ४५ परिवारका महिलाहरुले रोजगारी पाएका छन्।
उद्योगका लागि चाहिने कच्चा पदार्थ सालको पात गाउँका महिलाहरुले जंगलबाट टिपेर ल्याउने र उद्योगमा एउटा पातको १ देखि ३ रुपैयाँसम्म बिक्री गर्ने गरेका छन्। कच्चा पदार्थ बिक्रीबाट प्रति व्यक्ति दैनिक ३ सय देखि ५ सय रुपैयाँसम्म आम्दानी लिने गरेका छन्।
दुनाटपरी बनाउन आवश्यक पर्ने कच्चापदार्थ स्थानीयबाटै खरिद गर्ने गरेको सञ्चालक सदस्य भावना पुलामी मगरले बताइन्। फुर्सदको समयमा, गोठालो जाँदा अर्थात् घरमा बस्ने बुढापाकाहरुले पनि काम गरेर राम्रो आम्दानी लिइरहेको उनले बताइन्।
समान्य लगानीमा दुनाटपरी बनाउने मेसिन खरिद गरी व्यवसाय सुरु गरेका उनीहरुले अहिले मनग्य आम्दानी गरिरहेका छन्। घर व्यवहार चलाउन मात्रै नभएर दिन प्रतिदिन आम्दानी बढ्दै गएको उद्योग सञ्चालकहरुको भनाइ छ। उद्योगमा प्रत्यक्ष रुपमा ६ जनाले पूर्णकालीन रोजगारी पाएको र आंशिक रुपमा ३० देखि ३५ जनालाई रोजगारी पाइरहेको उद्योग सञ्चालिका सरिता बुढामगरले बताइन्।
पर्यावरणीय दृष्टिकोणले फाइदाजनक मानिने दुनाटपरी माग बढ्दै गएको भए पनि यसको प्रवर्द्धनका लागि सरकार तथा सम्बन्धित निकायले कुनै चाँसो नदिएको उनीहरु बताउँछन्। गाउँघर तथा शहरमा विवाह, भोजभतेर तथा व्रतबन्धमा प्रयोग हुने दुनाटपरी कैलाली जिल्लाभरका स्थानीयहरुले प्रयोग गर्न थालेको बुढामगरले बताइन्।