कञ्चनपुर - कञ्चनपुरका तीन नगरपालिकमा हिउँदे तरकारी बालीमा रोग तथा किराको प्रकोप बढेको छ। बाली संरक्षण प्रयोगशाला सुन्दरपुर, कृषि ज्ञान केन्द्र र स्थानीय तहको सहकार्यमा आयोजनामा पुनर्वास, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा गरिएको घुम्ती बाली उपचार शिविरमा किसानले ल्याएका तरकारी बालीका बिरुवामा रोग तथा किराको प्रकोप भएको पाइएको हो।
प्रयोगशालाका सूचना अधिकारी अम्बादत्त विष्टले शिविरमा किसानले ल्याएका तरकारीका बिरुवामा फौजी किरा, करौते झिँगा, लाही किरा, सेतो झिँगा, इँटाबुट्टे पुतलीलगायत किराको प्रकोप पाइएको बताए। ‘केही किसानले ल्याएका तरकारीका बिरुवामा जरा कुहिने रोगको समस्या समेत पाएका छौं,’ उनले भने, ‘किसानलाई तरकारी बाली जोगाउनका लागि अपनाउनु पर्ने आवश्यक सल्लाहसँगै बिषादी समेत उपलब्ध गराएका छौं।’
सूचना अधिकारी विष्टका अनुसार सबैभन्दा बढी किराको प्रकोपका कारण खुर्सानी र गोलभेडा खेती गरेका किसानले क्षति व्यहोरेका छन्। किरा र रोगको प्रकोप सुरु हुनासाथ कृषि प्राविधिकबाट सल्लाह लिनुपर्नेमा अधिकांशले सल्लाह नलिएको पाइएको कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनकबहादुर सिंहले बताए। ‘एउटा विरुवामा फैलिएको रोग किराको प्रकोपले पुरै बालीमा फैलिई सखाप भएको समेत पाइएको छ,’ उनले भने, ‘समयमै रोग किरा निदानको उपाय गरे बाली जोगाउन सकिन्थ्यो। पुरै बालीमा रोग र किरा फैलिएपछि मात्रै किसानले समस्या ल्याउँदा नियन्त्रण गर्न सकिँदैन।’
रोग निरोधक वा सहन सक्ने जातको खेती गर्ने, ठाउँअनुसार जात सिफारिस, समय, दूरी, नाइट्रोजन, फस्फोरस, पोटास मलको सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने र परिणाममा बीउदर प्रयोग गर्ने र रोग किराको लक्षण र फैलावटको प्रकृतिअनुसार रोगी भाग, बोट वा किराका फूल, लाभ्रा, प्युपा वयस्क पुलतीलाई नष्ट गरे थोरै जग्गामा धेरै उत्पादन लिन सकिने कृषि प्राविधिकहरुको सुझाव छ।