टीकापुर - कैलालीको टीकापुर नगरपालिका छाउगोठको लगत सङ्कलन गर्न थालेको छ । नगरपालिकाले ग्रामीण क्षेत्रमा अझै महिला महिनावारी हुँदा छाउगोठमै बस्ने गरेकाले योजना बनाउन सहज होस् भनी लगत सङ्कलन गर्न थालेको हो ।
नगरपालिकाका वडा नं २, ६, ७, ८, ९ मा अझै छाउगोठ देख्न सकिन्छ । यहाँका महिला अहिले पनि छुवाछूतको शिकार भइरहेका छन् । नगरपालिकाले आगामी वर्ष २०७६र७७ का योजना छनोट गर्नुअघि वडा सदस्यको नेतृत्वमा वडामा रहेका छाउगोठको तथ्याङ्क बनाउन थालेको उपप्रमुख केशरी विष्टले बताईन ।
“नगरपालिकाले छाउपडी प्रथाविरुद्ध चौथो नगरसभामा सङ्कल्प प्रस्ताव पारित गरेको छ ।” उपप्रमुख विष्टले भनिन, “अहिले पनि महिला छाउपडी प्रथाका नाममा हिंसा सहन बाध्य छन् । आगामी वर्ष उनीहरुको सोच परिवर्तन गर्ने खालका योजना बनाउन सहयोग होस् भनी लगत सङ्कलन थालेका हौँ ।”
नगरपालिकाले छाउपडी गोठ भएका परिवारलाई सेवा, सिफारिसजस्ता कुरामा रोक्ने खालको नीति पाँचौँ नगरसभाले पारित गर्ने तयारी छ । “नगरपालिकाका विकट वडाका रुपमा चिनिने ८ र ९ नं वडामा अहिले पनि सडकमै छाउगोठ छन् ।” उपप्रमुख विष्टले भनिन्, “त्यहाँ सडकमा असुरक्षित गोठमा बस्ने महिला कसरी सुरक्षित होलान् भनी हामी गम्भीर भएका छौँ ।”
वडा नं ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले गोठ भत्काएर छाउपडी प्रथा अन्त्य नहुने भएकाले सोच परिवर्तन गर्ने खालको नीति बनाउने बताए । टीकापुर बजारबाट दुई किलोमिटर मात्र दूरीमा रहेको टीकापुर–२ को राजीपुरमा अहिले पनि ८० घरमा छाउगोठ छन् ।
राजीपुरमा घरघरमा छाउगोठ छन् । वडा २ नं का वडाध्यक्ष प्रकाश बुढाले एकैपटक परिवर्तन गर्न नसके पनि नीतिगतरुपमा कडाइ गरेर घरको एउटा कोठासम्ममा बस्ने वातावरण बनाउने प्रयासमा रहेको बताए । नगरपालिकामा अहिले पनि सयौँ घरमा छाउगोठ छन् । नगरपालिकाका यी सबै वडामा एक दशकअघि महिला अधिकारकर्मीले छाउगोठ भत्काउने अभियान अन्तर्गत भत्काएका थिए ।
अभियानका क्रममा यी सबै गोठ भत्किए तर त्यसको एक महीना नपुग्दै पुनःनिर्माण भएका यी गोठमा हरेक महिलाले पाँच दिन बिताउनुपर्छ । टीकापुर–८ बटनपुरकी रीमा साउदले हरेक महीनाको पाँच दिन राम्ररी निन्द्रा नलाग्ने बताईन । “घरका सबै सदस्य घरभित्र सुत्छन, पाँच दिन रातभरि निदाउन सक्दिन, निकै डर लाग्छ ।”
रिमालले भनिन्, “अझ यो गर्मीको समयमा गोठभित्र सुत्न पनि कठिन छ, त्यहीँ श्वास रोकिन्छ कि जस्तो लाग्छ ।” महिला महिनावारी भएको समयमा बाध्यता ठान्दै पाँच दिन घर बाहिर बिताउँछन् । महिनावारी भएका बेला यहाँका महिलाले दही, दूध, घ्यूजस्ता पोषिलो खानेकुरासमेत खान पाउँदैनन् ।
दही, दूध दिएमा देउता रिसाउँछन, अनिष्ट हुन्छ भन्ने गलत धारणा समाजमा अहिले पनि कायम छ । यस्ता खाले गलत अभ्यासका कारण महिला विभेद र हिंसा सहन बाध्य छन् ।
छाउगोठमा बस्दा महिलामाथि यौनहिंसा हुने वर्षात्को समयमा सर्पदंश अर्थात् सर्पले टोक्ने जोखिम रहन्छ । धर्म, संस्कृति र परम्पराका नाममा महिलाले सहनुपरेका यस्ता अभ्यास अन्त्य गर्न आवश्यक छ ।
रासस