अत्तरिया - स्नातक तह चौथौ बर्षको परीक्षा मिति नजिकिदै गर्दा त्रिभुवन विश्वबिधालयले मनोमानी रुपमा परीक्षा केन्द्र सार्न थालेको छ । बिगत लामो समयदेखी अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई केन्द्र तोकेर परीक्षा संचालन हुदै आएकोमा त्रिभुवन विश्वबिधालयलले कोरोना महामारीको बेला कहिले गुलरिया त कहिले अत्तरियामा परीक्षा केन्द्र सार्न थालेको हो ।
यही मंसिर २८ गतेदेखी संचालन हुन लागेको स्नातक तह चौथौ बर्षको परीक्षाको मिति नजिकिदै जादाँ दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका परीक्षार्थीहरुको परीक्षा केन्द्र सुरुमा गुलरियामा रहेको कञ्चन बहुमुखी क्याम्पसमा तोकिएको थियो । कोरोनाको बेला घर नजिकैको क्याम्पसलाई छोडेर अर्का जिल्लामा पर्ने टाढाको क्याम्पसमा परीक्षा केन्द्र तोकेको भन्दै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चौथो बर्षमा अध्यनरत बिधार्थीहरुले आपत्ति जनाउदै बुधबार क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय अत्तरियामा तालाबन्दी गरेका थिए ।
उनीहरुले कोरोना संक्रमणको जोखिम बढिरहेका बेला परीक्षा केन्द्र सार्न नहुने र दुर्गालक्ष्मीलाई नै केन्द्र तोक्न माग गरेका छन् । तर क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयले बिधार्थीको पिरमर्कालाई भन्दा पनि आफु अनुकुलको परीक्षा केन्द्र तोकेको छ । तालाबन्दी पछि आज फेरि गुलरियाको परीक्षा केन्द्रलाई अत्तरियाको एभरेष्ट मल्टिपल कलेजमा सारेको छ ।
यसमा पनि बिधार्थीहरुले आपत्ति जनाउदै तालाबन्दी जारी राखेको बताएका छन् । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस बिबिएस चौथौ बर्षका बिधार्थी सुधिर बलायरले परीक्षार्थीहरुमा झन डर त्रास फैलाउने किसिमले क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको मुखैमा कहिले कतै कहिले कतै परीक्षा केन्द्र सारेर आफुहरुमा झन मानसिक समस्या बढेको बताए ।
उनले आफुहरुले कोरोनाको बेला बिगत लामो समयदेखी परीक्षा संचालन हुदै आएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको परीक्षा केन्द्र नसार्न आग्रह गर्दा गर्दै परीक्षाको मुखमा यताउती सारेर बिधार्थीहरुको भबिष्य माथि नै खेलबाड गरिरहेको बताए ।
'हामी परीक्षाको तयारी गरौ कि परीक्षा केन्द्र कता राखेको छ भन्ने खोजौ उनले भने हामीले बिरोध जनाएपछि एभरेष्ट कलेजलाई परीक्षा केन्द्र तोकिएको जानकारी आयो र छलफलका लागि बोलायो तर दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको केन्द्रलाई हटाएर अत्तरियाकै एभरेष्ट कलेजमा परीक्षा केन्द्र सार्नुको कारण बारे जान्न खोज्दा केही जबाफ नआएपछि असहमती जनाएका छौ र तालाबन्दी पनि जारी नै रहेको छ ।'
उनले दुर्गालक्ष्मीलाई नै परीक्षा केन्द्र नतोक्दा सम्म आफुहरुले तालाबन्दी नखोल्ने र परीक्षा समेत बाहिष्कार गर्ने चेताबनी दिएका छन् । दुर्गालक्ष्मी क्याम्पस सुप विश्वबिधालय अन्र्तगत गएपनि आफुहरु त्रिभुवन बिश्वबिधालयकै बिधार्थीहरु रहेको र आफ्नो भबिष्यमाथि त्रिबिले खेलवाड गरिरहेको चौथो बर्षमा अध्यनरत बिधार्थीहरुले बताएका छन् ।
यता क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाका प्रमुख सह परीक्षा नियन्त्रक ईश्वरी दत्त पन्तले बिधार्थीहरुको समस्यामा मध्यनजर गर्दै गुलरिया सारिएको परीक्षा केन्द्र आज एभरेष्ट कलेजमा तोकिएको जानकारी दिए । उनले त्रिभुवन विश्वबिद्यालयको परीक्षा बोर्डले नै केन्द्र सार्ने निर्णय गरेको हुदाँ दुर्गालक्ष्मी क्याम्पसवाट परीक्षा केन्द्र किन हटाइएको हो भन्ने बारे आफुलाई पनि जानकारी नभएको बताए ।
'यस बिषयमा मेरो पनि माथि असहमति रहेको थियो किन परीक्षाको मुखैमा परीक्षा केन्द्र फेरबदल भैरहेको छ भन्ने बारे मैले पनि भनेको थियो' उनले भने - 'बिधार्थीहरुको माग पनि जायज हो , कोरोनाका बेला परीक्षा केन्द्र यताउती सारिदा उहाँहरुलाई पनि समस्या हुन्छ ।' अब परीक्षा केन्द्र कतै पनि नसारिने बताउदै उनले एभरेष्ट मल्टिपल कलेज सबैका लागि उपयुक्त हुने बताएका छन् ।
