धनगढी - धनगढीको मुख्य एक सडकको शिलान्यास गरिएको छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गतका सडकको धनगढी उपमहानगरपालिकाका मेयर निर्प बहादुर ओड र उपमेयरले शुसिला भट्ट मिश्रले संयुक्त रुपमा सडकको शिलान्यास गरेका हुन् ।
एसियाली विकास बैंकको सहयोगमा क्याम्पस गेट–चटकपुर सडकको शिलान्यास गरिएको हो । धनगढी कै मुख्य सडक भएपनी उक्त सडक बिग्रिएर स्थानियलाई हैरान हुँदै आएको छ । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारका लागि ०१५ मा सम्झौता भएको थियो । सम्झौता भएको लामो समय हुँदा पनि सडक निर्माणको काम अगाडि बढ्न सकेको थिएन ।
पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माणको काम सुरु भएको छ । ६८ करोड ५ लाख ९८ हजार ७ सय ४ रुपैयाँको ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ । पहिलो चरणमा ठेक्का पाएको कालिका कन्ट्रक्सनले ७ वटा सडक निर्माण गर्नेछ ।
जसअन्तर्गत गुल्म–चर्च रोड (२ हजार ७ मिटर), धनगढी मेन रोड, ट्राफिक चौराहादेखि कैलालीनाला (१ हजार ३ सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (७ सय मिटर), क्याम्पस रोड–चटकपुर (३ हजार ६ सय ५० मिटर), धनगढी–खुटिया स्याउले रोड (८ सय ७० मिटर), मालपोत रोड (४ सय ३० मिटर र हसनपुर रोड (१ हजार १ सय ५० मिटर) रहेका छन् ।
आयोजनाअन्तर्गत यी सडक एकै मापदण्डका बन्नेछन् । आयोजनाका उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले बीचमा डिभाइडर भएको चार लेन सडक, दुवैतर्फ सडकको पानी र बर्खाको पानी बग्ने नाली, विद्युत् र टेलिफोनको तार अन्डरग्राउन्ड, ठाउँ–ठाउँमा ट्राफिक संकेत र बस बिसौनी, स्ट्रिट लाइटसहित हरियाली युक्त सडक बन्ने बताए । निर्माण हुने सडकमा साइकल लेन, फुटपाथ पनि हुनेछ । सडकको निर्माण अवधि दुई वर्ष रहेको छ ।
‘क्षेत्रीय सहरी विकास आयोजना धनगढी विकासको सपना बोकेको आयोजना हो,’ नगरप्रमुख वडले शिलान्यास गर्दै भने, ‘त्यसैले नगरवासीको सपना पनि यस आयोजनासँग जोडिएको छ ।
सुदूरपश्चिममा एसियाली विकास बैंकको ऋण लगानीमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा, भीमदत्त नगरपालिकामा ११ अर्बभन्दा बढी लगानीमा उच्च गुणस्तरको सडक निर्माण हुँदै छन् ।