जनकपुरधाम -सीके राउत नेतृत्वको समुहले आफ्नो पार्टीको नाम 'जनमत पार्टी' गठन गर्ने निर्णय गरेको छ । सिरहाको लहानमा दुई दिनसम्म चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सीके राउत अध्यक्ष रहनेगरी नयाँ पार्टी खोल्ने निर्णय गरेको हो ।पार्टीको चुनाव चिह्न अष्टदल राख्ने निर्णय पनि बैठकले गरेको छ । ३५ केन्द्रीय सदस्य रहने निर्णय पनि भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
राउतको नेत्रित्वको समुहले केही दिनअघि सरकारसँग सहमति गरी मूलधारको राजनीतिमा आउने घोषणा गरेका थिए । सहमतीको पक्ष र बिपक्षमा केही दिन नेपाली राजनितीमा ठुलै बहस भएको थियो ।
बैठकका निर्णय यस्ता छन् निर्णय :
- स्वतन्त्र मधेश गठबन्धनले “मधेश स्वराज आन्दोलन”मा समर्पित भएर योगदान दिँदै आएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम-जनताको योगदानको उच्चतम कदर गर्दै स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११-बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गरेको छ।
- केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गरेको छ।
- पार्टीको नाम “जनमत पार्टी” राख्ने निर्णय गरेको छ।
- पार्टीको झण्डामा क्रमश: रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ।
- पार्टीको लोगोको रूपमा अष्टदलको छेऊमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने छ। पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गरेको छ।
- पार्टीको चुनावचिन्हमा “अष्टदल” लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ।
- केन्द्रीय भेलाले पार्टीको लागि ३५-सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रीय कार्यकारिणी समितिलाई विस्तार गरिनेछ।केन्द्रीय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको छ।
- स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरूमाथि लगाइएका मुद्दाहरू अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ श्री चन्दन सिंहको संयोजकत्वमा ३-सदस्यीय सहमति कार्यान्वयन समितिलाई सो कार्यको जिम्मेबारी सुम्पेको छ।त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेबारी दिइएको छ।
- “जनमत पार्टी” को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रूपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र नि:स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको छ।
- “जनमत पार्टी” सम्पूर्ण जनता, पत्रकार, नागरिक समाज, राजनीति पार्टी तथा सामाजिक संघ-संगठनलाई सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध गर्दछ।