अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफुहरुले काम अनुसारको दाम पाउन नसकेको गुनासो गरेका छन् ।
गोदावरी नगरपालिकाले आयोजना गरेको १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवसमा सहभागी गोदावरी नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुले ग्रामिण क्षेत्रमा नागरिकहरुको स्वास्थ्य उपचारमा आफुहरु रात दिन नभनि लागि रहेको भए पनि राज्यवाट भने त्यो बाफतको सेवा सुबिधा पाउन नसकेको गुनासो गरेका हुन् ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमका बेला पनि गाउँ गाउँमा खटिएको भएपनि राज्यबाट कुनै सुबिधा नपाएको गोदावरी महिला स्वास्थ्य स्वयंसेविकाकी संयोजक जानकी मलासीले बताइन् ।
उनले कोरोनाको डरले सबै घर भित्र लुकिरहेको बेला आफुहरु गाउँ गाउँ टोल–टोलमा गएर स्वास्थ्य सेवा प्रदान गरेको भएपनि यसको राज्यबाट कुनै मुल्याङ्कन नभएको बताईन् ।
उनले स्थानिय सरकारका रुपमा रहेको गोदावरी नगरपालिकावाट एक पटक स्वास्थ्य सुरक्षाका सामाग्री पाएपनि अरु सुबिधा भने केही पाउन नसकेको गुनासो पोखेकी हुन । गोदावरी नगरपालिका १ की स्वास्थ्य स्वयंसेविका लक्ष्मी भण्डारीले गाउँ– गाउँमा सेवा गरे बाफत बर्षको १२ हजार दिएको भएपनि त्यो प्रयाप्त नभएको बताईन् ।
आफूहरु स्वयंसेविका भएर सेवा गर्ने खटिएकाले धेरै आर्थिक अपेक्षा राख्नु भने गलत हुने बताउदै उनले यसका लागि राज्यले पनि केही सोच्नुपर्ने बताइन् । कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले स्थानिय सरकार गठन भैसकेपश्चात नगरपालिका महिला स्वास्थ्य स्वयंसेविकाको सेवाका लागि सधैव लागिरहेको बताए ।
उनले अबका दिनहरुमा महिला स्वयंसेविकाहरुको पिडालाई बुझ्दै नगरपालिका भित्र रहेका प्रत्येक स्वास्थ्य स्वयंसेविकालाई बार्षीक १५ हजार भत्ता दिइने बताए । गत बर्ष बार्षिक १२ हजार भत्ता दिने निर्णय गरेकोमा आगामी बर्षमा बढाएर सबै महिला स्वास्थ्य स्वयंसेविकाले बार्षिक १५ हजार प्रदान गरिने उनको भनाई छ । साथै स्वयंसेविकाले सेवाबाट अवकाश पाउँदा ७५ हजार उपलब्ध गराईने समेत उनले बताए ।
‘नगरपालिकाको धेरै आयश्रोत छैन तर पनि हामीले तपाईहरुको कामको उच्च मुल्याङ्कन गरेर अवकाश पाउँदा पनि ७५ हजार दिने योजना बताएका छौ’ उनले भने ‘यो योजना हिउँदे अधिवेसनबाट पारीत गरेर लागु हुनेछ ।’ उनले महिला स्वास्थ्य स्वयंसेविकाले सेवाको भावनाले काम गर्ने गरेका भएपनि नगरपालिकाले उनीहरुलाई काम गर्न सहज होस भन्नका लागि सहयोगका कार्यक्रम ल्याएको बताए ।
उनले महिला स्वयंसेविकाको क्षमता अभिबृद्धिका लागि पनि कार्यक्रम संचालन गरिने बताए । हाल गोदावरी नगरपालिकामा १ सय ५ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन ।
स्वास्थ्य स्वयंसेविका ६० बर्ष उमेर पुगेपछि अवकाश पाउने प्रावधान रहेको छ । दिवसको अवसरमा नगरपालिकाले आज उष्कृष्ट ५ जना महिला स्वयमसेवीकाहरुलाई सम्मान पनि गरेको छ । सम्मानित हुने महिला स्वास्थ्य स्वयंसेविका गोदावरी नगरपालिका वडा नम्बर ४ की बिस्ना मल्ल, वडा नम्बर ५ की लीलावती राना, वडा नम्बर ८ की जोमती चौधरी, वडा नम्बर ९ की बिमला बोहरा र वडा नम्बर ११ की हरीकला बडैला रहेका छन ।
उनीहरुलाई नगद २ हजार सहित दोसल्ला ओडाएर सम्मानित गरिएको थियो । कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत , नगरपालिकाका जनप्रतिनिधि , शिक्षा शाखा , स्वास्थ्य शाखा प्रमुख लगाएत नगरपालिका भित्रका महिला स्वयमसेवीकाहरुको सहभागिता रहेको थियो ।