काठमाण्डौ - लोकसेवा आयोगले दरखास्त दिने म्याद एक हप्ता थप गरकोे छ । देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि आयोगले गएको जेठ १५ गते प्रकाशित गरेको विज्ञापनको दरखास्त दिने म्याद मंगलबार सकिएको छ ।
अनलाइन प्रणालीमार्फत दरखास्त दिनेहरुको संख्या अत्यधिक भएकाले सर्भरमा समस्या देखिएर धेरै जनाले दरखास्त दिन नपाएको गुनासो आएपछि आयोगको निर्णय अनुसार यहि असार १० गतेसम्म म्याद थप गरिएको आयोगका प्रवक्ता देवी प्रसाद सुुवेदीले जानकारी दिए ।
१७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने निर्णय पनि गरिएको प्रवक्ता सुबेदीले बताए ।
सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ सञ्र्यो
लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी दरबन्दीको लागि खुलाएको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ सरेको छ । मंगलबार सुनुवाइको मिति तोकिए पनि अन्य रिटसमेत परेको कारण सुनुवाइ सारिएको हो ।
न्यायाधीशद्वय डम्बरबहाहदुर शाही र दीपककुमार कार्कीको इजालसले सबै रिट निवेदन एकसाथ हेर्ने भन्दै सुनुवाइ सार्ने आदेश जारी गरेको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए । अर्को सुनुवाइ कहिले हुने भन्ने विषयमा खुलाइएको छैन। सोमबार मात्रै स्थानीय तहका १२१ करार कर्मचारीले विज्ञापनको विरुद्धमा रिट दायर गरेका थिए ।
लोकसेवाले विभिन्न स्थानीय तहमा नौ हजार १६१ पदका लागि खुलाएको विज्ञापन समानुपातिक, समावेशीको सिद्धान्त र संविधानविपरीत रहेको दाबीसहित सर्वोच्चमा मुद्दा दायर गरिएको थियो ।
स्थानीय स्वायत्त शासन ऐनलाई टेकेर केही वर्षअघि सर्वोच्च अदालतले समेत आन्तरिक प्रतिस्पर्धामा सीमित कोटा निर्धारण गर्न आदेश दिएको तर हालको व्यवस्थाले त्यसलाई कटौती गर्दै विज्ञापन गरेको स्थानीय तहका करार कर्मचारीको गुनासो छ ।