अत्तरिया - कैलालीको अत्तरिया बजारमा रहेको मासु पसलहरुको अनुगमन गरेको छ । गोदावरी नगरपालिका उप प्रमुख एबम् उपभोक्ता हित संरक्षण समितीका संयोजक रत्ना कडायतको संयोजकत्वमा नगरपालिकाको पशु विकाश शाखाले अत्तरियामा रहेका १५ वटा मासु पसलहरुको आज अनुगमन गरेको हो ।
बिहिवार पहिलो दिन धनगढी रोडमा रहेका मासु पसलहरुमा अनुगमन गरिएकोमा त्यसैलाई निरन्तरता दिदै दोस्रो दिन आज महेन्द्रनगर रोडमा रहेका पसलहरुमा अनुगमन गरिएको गोदावरी नगरपालिका पशु शाखाका नायब सेवा प्राबिधिक टेक बहादुर शाहुले जानकारी दिए ।
उनले अत्तरिया बजारमा रहेका मासु पसलहरुमा पहिलो पटक अनुगमन गरिएको बताए । उनले अनुगमनका क्रममा धेरै जसो पसलहरु दर्ता र न्युनतम मापदण्ड पालन नगरेको पाइएको बताए । यस्तै मासु पसलहरुमा हुनु पर्ने सरससफाई नभएको , मासु काट्न प्रयोग हुने औजारहरु पुराना खिया लाग्ने फलामी औजारहरु रहेको र सडकको छेउमै खुल्ला रुपमा राखेर बिक्रि बितरण भैरहेको पाइएको उनको भनाई छ ।
उनले पहिलो पटक भएकाले सबै ब्यापारीहरुलाई सम्झाई बुझाई १५ दिन भित्र पसल दर्ता गर्न र आवश्यक मापदण्डहरु अनिवार्य रुपमा पालन गर्नका लागि सुझाब सल्लाह दिएको बताए ।
फेरि १५ दिन पछि अनुगमन गरिने र गल्ती दोहोरिएको पाइएमा खाध्य ऐन अनुसार कानुनी कारबाही गरिने उनले निर्देशन दिए । अनुगमनका क्रममा बोल्दै उपप्रमुख रत्ना कडायतले पहिलेको भन्दै अहिले मासुपसलहरुमा फरक देखिएको बताईन । उनले स्थानिय सरकार आएदेखी निरन्तर रुपमा बजारमा गरिएको अनुगमनले गर्दा विगतका कमी कमजोरीहरुलाई सुधार्दै अहिले ब्यापारीहरु आफु पनि सचेत रहेको देखिएको बताइन् ।
'पहिलेको भन्दा त अहिले धेरै परिर्वतन आएको छ , पहिला पहिला रोडको छेउमै खुल्ला रुपमा मासु काट्ने , झुण्डाउने र बिक्रि बितरण गर्ने गरिन्थ्यो तर अहिले भने पसल भित्रै राखेर बिक्रि बितरण भएको पाइएको छ उनले भनिने अब केही केही पसलहरुले अझै पनि सुधार गर्न बाकिँ रहेकाले हामीले सबैलाई सम्झाइ बुझाइ गरेका छौ , अबका दिनहरुमा उहाँहरुले पनि सुधार गर्नुहुन्छ भन्ने विश्वास छ ।'
उनले मानव जिवनसंग प्रत्यक्ष सरोकार राख्ने मासु पसलहरुमा हुन कमीकमजोरीले आमा उपभोक्ताहरुमा स्वास्थ्यमा असर पर्ने भएकाले सबैले सचेत बन्नुपर्ने बताइन् । कोरोना कहरका कारण लामो समयदेखी पसल बन्द हुदाँ समस्यामा रहेका ब्यापारीहरुलाई यो बेला सुझाव सल्लाह सहित आफु पनि ताजा खाने कुराहरु प्रयोग गरौ र आम उपभोक्ताहरुलाई पनि ताजा खानेकुराहरु बिक्रि बितरण गरौ भन्ने सन्देश सहित १५ दिनको म्याद दिएका उनले बताइन् ।
उनले आगामी दिनहरुमा अत्तरिया बजारमा रहेका किराना पसल , मासु पसल लगाएत अन्यमा अनुगमनलाई निरन्तरता दिदै जाने बताइन् ।
अनुगमनका क्रममा पशुपन्छी रोग अनवेषण प्रयोगशाला धनगढीका कार्यालय प्रमुख डा तपेन्द्र प्रसाद बोहरा , गोदावरी नगरपालिका पशु विकासका प्रमुख राम बहादुर सार्की , शिक्षा शाखा प्रमुख बसन्त कुमार खत्री , गोदावरी नगरपालिका वडा नं २ का वडा सदस्य कमल कडायत , अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा , ईलाका प्रहरी मालाखेतीका प्रतिनिधि , पत्रकार लगाएतको सहभागिता रहेको थियो ।