कञ्चनपुर - महेन्द्रनगरमा आधुनिक सडक निर्माण हुने भएको छ । प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा निर्माण हुने आधुनिक सडकको शिलान्यास गरेका हुन् । एशियाली विकास बैंक ९एडिबी० को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार ओटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणका लागि छनौट गरेको थियो ।
सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक स्तरोन्नति र ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण हुन लागेको हो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य डा भट्टले सडक निर्माणसंगै बजार क्षेत्र समृद्ध हुने बताउँदै यहाँ जैविक मार्ग निर्माण, मझगाउँ विमानस्थल सञ्चालन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन योजनाको गृहकार्य भइरहेको बताए ।
‘सडक निर्माणमा बजेट अपुग भए थप गर्न हामी पहल गर्छौं’, उनले भने, ‘समयमा निर्माण सक्न म आग्रह गर्छु ।’
क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइका प्रमुख महेश सिंहले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक र ढल, साइकल लेन, फुटपाथलगायत संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको जानकारी दिए ।
आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरका ५ गल्लीको सडक स्तरोन्नति, ढल निर्माणका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोड्ने नमूना सडक, सौर्य बत्ती जडान हुने निर्माणको जिम्मा पाएको जेडआइइसी–लामा जेभीका इञ्जिनीयर भुपेन्द्रबहादुर सिंहले बताए ।
‘यहाँको बजार क्षेत्र र आसपासको क्षेत्रमा गरेर १० देखि १५ मिटर चौडाइ भएको १४ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ’, उनले भने, ‘यसका लागि रू। ८८ करोडको ठेक्का सम्झौता भएको छ ।’
निर्माणका लागि दुई वर्षको समयावधि तोकिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेशसभा सदस्यद्वय प्रकाश रावल र मानबहादुर सुनारका साथै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टलगायत सहभागिता थियो । रासस