अत्तरिया - कैलालीको अत्तरियामा महिला हिंसा न्युनिकरण सम्बन्धि एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियान संचालन भैरहेका बेला गोदावरी नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका बिभिन्न सरोकारबाला निकायहरुसंग महिला हिंसा न्युनिकरणका लागि एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका जनप्रतिनिधि संगै यस क्षेत्रका बिभिन्न सामाजिक संघसंस्थामाहरुमा आबद्ध पदाधिकारीको सहभागिता रहेको थियो ।
नगरप्रमुख हरी सिं साउँदको सभापतित्वमा भएको कार्यक्रमकी सुदूरपश्चिम प्रदेश सांसद चुन कुमारी चौधरी प्रमुख अतिथि रहेकी थिईन् । कार्यक्रममा बोल्दै सांसद चौधरीले महिलाहरु राज्यक हरेक निकायमा अगाडी आउनु पर्ने बताईन् ।
कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुुख साउँदले सामाजमा चेतनाको विकास नभए सम्म महिला हिंसाका घटनामा कमि नआउने बताए ।
उनले महिला हिंसा महिला पुरुष बिच मात्रै नभएर महिला–महिला बिच पनि भएको बताए । सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशका तुलनामा बढी महिला हिंसाका घटना हुने भएकाले यसका लागि सचेतनाका कार्यक्रम संचालन गरिनुपर्ने नगरप्रमुख साउँदको जोड रहेको छ ।
कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले पछिल्लो समय महिलाहरु बिभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध हुदै गएको भएपनि पूर्ण रुपमा अधिकार भने पाउन नसकेको बताइन् ।
उनले यसका लागि सबैले सकारात्मक सोचका साथ सामाजिक , आर्थिक राजनैतिक लगाएत सम्पूर्ण क्षेत्रमा महिलाहरुको सहभागिता पूर्ण अधिकार सहित सुनिश्चित गरिनुपर्ने बताईन् ।