अत्तरिया - कैलालीमा गरिएको परीक्षणमा एकै आर्थिक वर्षमा १५२ जना एचआइभी एड्सका नयाँ बिरामी फेला परेका छन् । गत आर्थिक वर्षमा छ हजार ११३ जनाको स्वास्थ्य परीक्षण गर्दा १५२ जना नयाँ सङ्क्रमित फेला परेका हुन ।
पुष्टि भएका नयाँ संक्रमितमा वयस्क पुरुष ५५, वयस्क महिला ५५, ट्रान्स जेन्डर ३८, बालबालिका चार जना रहेका छन् । संक्रमण पुष्टि भएका उनीहरु विभिन्न जिल्लाका रहेका जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार फेला परेका नयाँ सङ्क्रमितमा कैलालीका ११०, कञ्चनपुरका २५, बैतडीका तीन, बर्दियाका चार, डोटीका, बझाङ, अछाम र डडेल्धुराका दुई÷दुई, दार्चुला र भारतका एक÷एक जना रहेका छन् ।
यसैबीच, प्राणघातक एचआइभी एड्स रोगबाट गत आर्थिक वर्षमा ३५ जनाको ज्यान गएको छ । कैलालीबाट एआरटी खाँदै आएकामध्ये ३५ जनाले गत आर्थिक वर्षमा ज्यान गुमाएका हुन ।
जसमध्ये छ जना सोही आर्थिक वर्षमा फेला परेका नयाँ सङ्क्रमित थिए । मृत्यु हुनेमा बाँकी पहिल्यै एचआइभी पुष्टि भएका विरामी रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताए । कामको चाप सँगै जनशक्तिको कमीले गर्दा पनि सेवा ग्राहीलाई सेवा दिन नसकिरहेको उनले बताए । उपकरणहरू मर्मत नहुँदा पनि सेवा दिन समस्या भइरहेको उनले बताए । विगतमा सेती प्रादेशिक अस्पतालमा मात्रै एचआइभी परीक्षण हुने गरेको थियो ।
तर, अहिले जिल्लाको माला खेती, टिकापुर र सेती प्रादेशिक अस्पतालमा चेक जाँच हुँदै आएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । परीक्षणको दायरा बढेकाले एचआइभी सङ्क्रमितको सङ्ख्या पनि बढेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए ।
प्रदेशका बासिन्दाहरू आर्थिकरुपमा अगाडी नबढ्दा सम्म एचआइभी एड्स सक्रमीतको सङ्ख्यामा कमी नआउने उनले बताए ।