बझाङ - जिल्लामा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या १० पुगेको छ । दुर्घटनामा परि गम्भिर घाईते थप एक जनाको मृत्यु भएपछि मृत्यु हुनको संख्या १० पुगेको हो ।
सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाउमा दुर्घटना हुँदा यस अघि ९ जनाको मृत्यु भएको थियो भने ४ जना गम्भिर घाईते भएका थिए । मृत्यु हुनेमा मष्टा गाउँपालिका–१ का कलकबहादुर खड्का, उनकी श्रीमती ३८ वर्षीया जुनधारा खडका , १७ वर्षका छोरा सुनील खड्का , २३ वर्षका हिक्मत खडका, ५९ वर्षीया धौली खड्का, ६५ वर्षीया जुना खडका, ३० वर्षका भक्त द्वाल, २७ वर्षीया लक्ष्मी द्वाल, चालक २२ वर्षका सुरेन्द्र थापा र ९ वर्षकी विनिता खड्का रहेको वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरीक्षक महानन्द जोशीले जानकारी दिए ।
दुर्घटनामा परि पाँचजना घाइते भएका छन् । यस मध्ये गम्भीर घाइते तीन जनालाई भने हेलिकप्टरबाट नेपालगञ्ज लगिएको उनले बताए । गम्भीर घाइते, मृतक कलक खड्काकी छोरी संगीता खडका, २८ वर्षका गोकुल शाही, २८ वर्षकै अनिता द्वाललाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ ।
यस्तै २२ वर्षका जनक द्वाल र १० वर्षका गणेश खड्काको चैनपुरस्थित जिल्ला अस्पतलमा उपचार भइरहेको छ । भीरमा अड्किएका घाइतेहरुको तीन घण्टा लगाएर उद्धार गरिएको बताइएको छ । जिप दुर्घटना पछि बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायवउपरीक्षक सूर्यबहादुर केसीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।