धनगढी - थरूहटथारुवान् संयुक्त संघर्ष समितिले थरूहट प्रदेश सहित विभिन्न १३ बुद्धे माग राखेर आगामी भदौमा पुन आन्दोलन गर्ने घोषणा गरेको छ । आईतवार थरूहटथारूवान संयुक्त संघर्ष समितिले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना विगतदेखिकै मागहरू अघि सार्दै आउदो भदौ ७ गते टीकापुरमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको हो ।
संघर्ष समितिले संविधानमा असन्तुष्टि जनाउँदै विभिन्न १३ वटा माग अघि सारेर विगतबाटै आन्दोलन अघि सारेको छ । कञ्चनपुरदेखि चितवनसम्मका ९ नौवटा जिल्लालाई समेटेर तराईको छुट्टै थरूहट प्रदेश बनाउनुपर्ने आफुहरुको पहिलो माग रहेको संघर्ष समितिले जनाएको छ । यस अघि यही विषयमा २०७२ साल भदौ ७ गते टीकापुरमा थरूहटथारूवान् आन्दोलन क्रममा भएको दोहोरो झडपमा परी १ नाबालक सहित ८ प्रहरीले ज्यान गुमाएका थिए ।
आन्दोलनको तयारीस्वरुप माधव चौधरीको संयोजकत्वमा ५१ सदस्यीय थरूहटरथारूवान् संयुक्त संघर्ष समिति गठन गरिएको छ । अहिले संविधान संशोधन सहित टीकारपुर घटनालाई राजनीतिक रूपमा समाधान गरिनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, टीकापुर घटनापछि थारूहरूमाथि अन्याय भएको विषयमा छानबिन गरिनुपर्ने लगायतका १३ बुद्धे माग अघि सारेर आन्दोलन गर्नुको विकल्प नरहेको थरूहटरथारूवान् संयुक्त संघर्ष समितिका माधव अध्यक्ष चौधरीले बताए ।
सम्मेलनमा कम्तिमा १० हजार थारु युवा भित्र्याउने उनले दावी गरे । उनले थारुहरुको अधिकारका लागि थालिएको आन्दोलनलाई थप उचाईमा र्पुयाउने बताए । पत्रकार सम्मेलन बोल्दै थारु नेता लक्ष्मण चौधरीले अखण्ड सुदूरपश्चिमका नाममा तयार पारिएको सुदूरपश्चिम प्रदेश कुनै पनि हालतमा थारुहरुलाई स्वकार्य नहुने बताए ।
उनले चितवन सम्मको स्वायत्त थारुवान राज्यको माग अहिले पनि यथावत रहेको बताए । ‘अझै पनि केही बिग्रेको छैन’, नेता चौधरीले भने,‘हामी वार्ताका लागि सधैं तयार छौँ, तर राज्यले यसलाई वेवास्ता गर्छ भने परिस्थिति बिग्रिन नसक्ला भन्न सकिँदैन।’ उनले संविधानको धारा २७४ र अनुसुची ४ विभेदकारी रहेको भन्दै त्यसलाई सच्याइनु पर्ने बताए ।
झुठा मुद्दा लगाउँदैमा आफूहरू विचलित नहुने उनको भनाइ छ। ‘हामी आफ्नो अधिकारका लागि शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं’, उनले भने ‘आन्दोलनलाई रोक्न राज्यले झुठा मुद्दा लगाउँदै जेल चलान गरेर हाम्रो आन्दोलन रोकिँदैन, भ्रममा नपरे हुन्छ।’ उनले आफ्नो माग संविधानलाई पुर्नलेखन नभई संविधान भित्र पहिचान सहितको अधिकार मागेको बताए ।